२०८१ पौष ११, बिहिवार , ११:५६:०८ बजे

Sajhamanch
'

मेचीनगरस्तरीय छनौट प्रतियोगिताको उद्घाटन

शनिवार, फागुन ३, २०७६

बाहुनडाँगी । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खेलकुदले सबै वर्ग र क्षेत्रलाई एकताको सूत्रमा बाँध्ने बताएका छन् ।

१२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद अन्तर्गत मेचीनगरस्तरीय छनौट प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आचार्यले भने–‘विभिन्न कारणले गुमनाम हुन पुगेका देशहरु पनि खेलका माध्यमबाट चर्चित बनेका छन् ।’

विभिन्न खेल विधाका उत्कृष्ट खेलाडी र प्रशिक्षक जन्माएको मेचीनगर खेलकुदको उर्वरभूमि रहेको कार्यक्रममा उनले बताए ।
नगर प्रमुख आचार्यले थपे–‘प्रभावकारी प्रशिक्षण र अत्यावश्यक खेल सामग्रीको अभाव हुँदा हुँदै पनि प्रशिक्षक र खेलाडीले खेलको गरिमा उच्च राखेका छन् ।’

विद्यालयलाई खेलाडी उत्पादनको उद्गमस्थलका रुपमा अथ्र्याउँदै उनले नगरबाट छानिएर जिल्लामा प्रतिष्पर्धा गर्ने खेलाडीहरुका लागि आवश्यक सहयोग गर्न नगर सरकार प्रतिबद्ध रहेको बताए ।

प्रतियोगिता उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर सामाजिक विकास समिति संयोजक नवीन बरालले खेलको नियम र अनुशासनलाई आत्मसात् गरी छनौट प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।

मेचीनगर ४ का वडा अध्यक्ष समेत रहेका उनले विगतमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धुलाबारी माविले हाँसिल गर्दै आएको विरासतलाई कायम राख्न आग्रह गरे ।

प्रतियोगितामा भाग लिएका नगरका विद्यार्थीहरुलाई उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न अनुरोध गर्दै बरालले जिल्लास्तरीय छनौटमा उत्कृष्ट हुँदै नगरको गरिमा जोगाउन अपिल गरे ।

त्यस्तै, नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले विद्यार्थीको खेल सम्बन्धी कला प्रस्फुटन गराउन गौरवमय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।

‘विद्यार्थीको चौतर्फी वृत्ति विकासमा खेलकुद प्रतियोगिताले सघाउ पुर्याउँदै आएको छ’ उनले भने–‘ मेचीनगरले विगतमा आर्जन गरेको वैभवशाली इतिहासले यसवर्ष पनि निरन्तरता पाउनेमा विश्वस्त छु ।’

मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन सत्रमा मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङ, २ का वडा अध्यक्ष तिलक न्यौपाने, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङ, भलिबल संघ प्रदेश १ का महासचिव लेखनाथ पराजुली, करातेका वरिष्ठ प्रशिक्षक कालु मेचेको उपस्थिति रहेको थियो ।

मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा मेची जनसाधारण माविको संयोजनमा सुरु तीन दिवशीय प्रतियोगितामा नगरका ५२ वटा विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिता सञ्चालन समिति सदस्य नमूना निरौलाका अनुसार नगरस्तरीय छनौट प्रतियोगितामा ट्रयाकतर्फ ९, फिल्डतर्फ ७ र करातेतर्फ ६ वटा खेलहरु हुनेछन् ।

प्रतियोगिता सञ्चालन समितिका संयोजक विक्रम क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत समितिका सदस्य सचिव एवं मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईं र सञ्चालन शिक्षक पुष्कर ढकालले गरेका थिए ।

यसैबीच, सोमबार समापन हुने प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा ८ सय मिटर दौडको छात्रातर्फ धुलाबारी माविकी सन्ध्या शर्मा प्रथम, पवित्रा माविकी रेजिना तामाङ दोस्रो र इष्ट होराइजन माविकी सविना राय तेस्रो भईन् । त्यस्तै, छात्रतर्फ शहिद दशरथ चन्द माविका लाजेहाङ थेवे प्रथम, धुलाबारी माविका भूपेन्द्र राई द्धितीय र विद्या विकास एकाडेमीका विप्लव श्रेष्ठ तृतीय बने ।

शनिवार, फागुन ३, २०७६ | खेलकुद

सम्बन्धित खबर