पुष महिनाभित्रै सम्पन्न गर्नुपर्ने जिल्ला सहकारी संघको साधारणसभा माघमा गर्नुका पछाडिको चित्तबुझ्दो कारण के हो ? कि संघहरुलाई चाहिँ छुट हुन्छ ?
वास्तवमा जिल्ला सहकारी संघको साधारणसभा पुष भित्रै सम्पन्न गर्नुपर्ने हो । तर, यसैवर्ष राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय संघ लगायतको साधारणसभा र तत् निकायमा झापाको प्रतिनिधित्वको सवालका कारण केही समय ढिला भएकै हो । माघमा गर्दा पनि हामीले सम्बन्धित निकायमा जानकारी गराएर मात्रै यो मिति तय गरेका हौँ । जहाँसम्म छुटको कुरा छ– कानून सबैका लागि बराबर हुन्छ ।
जिल्ला सहकारी संघको पदाधिकारी तहमा रहेर काम गर्नुभएको दोस्रो कार्यकालको पनि चार वर्ष बितेको छ । यो अवधिमा जिल्ला संघले गरेका देखिने कामहरु बताइदिनोस् न ।
झापा जिल्ला सहकारी संघले नियमित गतिविधिका अतिरिक्त थुप्रै देखिने किसिमका काम गरेको छ । मुलुक संघीयतामा गइसकेपछि तीन तहका सरकारसँग सहकार्य गर्ने, सहकारी क्षेत्रको बृत्ति र विकासका निम्ति हामीले निरन्तर काम गरिरहेका छौँ । स्थानीय तहको सहकारी ऐनमा एकरुपताका लागि १५ वटै पालिकामा नमूना सहकारी ऐन निर्माण गरी हस्तान्तरण र निर्माणमा पहल गरेका छौँ । सँगै झापाको विकास बहसमा साझेदारी र वकालत गरेका छौँ । झापाको सहकारीलाई देशकै नमूना सहकारीका रुपमा स्थापित गर्न ‘झापा को–अप्स स्टाण्डर्ड’ निर्माण, क्लस्टर निर्माण र त्यसलाई कार्यान्वयनमा ल्याएका छौँ । यसले सहकारी क्षेत्रलाई व्यवस्थित र नागरिकको भरोषाको केन्द्रको रुपमा स्थापित गर्छ भन्ने हाम्रो बुझाई छ ।
गएको वर्ष तामझाले झापा को–अप्स स्टाण्डर्डको घोषणा गर्नुभयो । यो वर्ष त पूरै सेलायो नि चर्चा पनि छैन, किन ?
सेलाएको छैन । हामीले माईपश्चिम क्षेत्रका सहकारी संस्थाहरुमा प्रयोग गरिरहेका छौँ । माईपूर्व क्षेत्रमा क्लस्टर निर्माणको काम भएता पनि क्लस्टरमा परेका सहकारी संस्थाहरुकै अनुरोधमा क्लस्टरलाई पुनःनिर्माण गरी यो वर्षबाट काम सुरुवात गर्ने चरणमा छौँ । यो मापदण्ड हामी सबै सहकारीमा पुर्याउँछौँ । र, झापालाई चिनाउने कुरामा यो पनि एक माध्यम बन्ने कुरामा हामी विश्वस्त छौँ ।
सहकारी प्रशिक्षण केन्द्र बनाउन अघिल्लो कार्यकालमा चारपानेमा खरिद गरिएको जग्गा बाँझै रहेको देखिन्छ नि ! किन बनाइएन, सहकारी प्रशिक्षण केन्द्र ?
जग्गा बाँझै छ हामीले स्वीकार्नु पर्छ । सहकारी प्रशिक्षण केन्द्रको निर्माण एउटा सामान्य भवन मात्रै होइन, त्यसलाई झापाको सहकारीको सूचना तथा स्रोत केन्द्रसमेत बनाउने हाम्रो लक्ष्य हो । हामीले जग्गा खरिद गर्दा सहकारी संस्थाबाट संघमा शेयर माग गरी शेयरबाट खरिद गरेका हौँ । प्रारम्भिक संस्थाले लगानी गरेपछि प्रतिफलको अपेक्षा स्वाभाविक हुन्छ । हामीले यसै वर्षबाट मात्रै सिस्टमबाट प्रतिफल वितरण प्रारम्भ गरेका छौँ । अतः अब हामी झापाका सबै सहकारी संस्था, यसमा आबद्ध सदस्य र आम सहकारी क्षेत्रलाई माया गर्ने व्यक्ति–व्यक्तित्वबाट स्वेच्छिक सहयोग प्राप्त गरी पूँजी निर्माण गछौँ । र, आगामी चार वर्षभित्रमा उक्त केन्द्र निर्माण गरिसक्ने गरीको संघको चार वर्षे रणनीतिक योजना बनाएका छौँ । उक्त योजना अनुसार हामी निरन्तर क्रियाशील छौँ/रहनेछौँ ।
जिल्ला संघलाई चलायमान एवम् थप सशक्त बनाउन के गर्नुपर्ने आवश्यकता देख्नु भएको छ ? कसले कस्तो भूमिका निर्वाह गर्यो भने झापाको सहकारी अभियान अब्बल बन्ला ?
झापा जिल्ला सहकारी संघ देशकै चलायमान संघहरुमध्ये पर्दछ । यसलाई सहकारी क्षेत्रको पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न हामीले नयाँ रणनीतिक योजना बनाएका छौँ । आम सहकारी संस्थाको निरन्तर संघप्रतिको विश्वास र कारोबारले संघलाई थप सशक्त बनाउँछ । त्यसका निम्ति हामीले सदस्य संस्थाका आवश्यकता पहिचान र त्यसमा सहजीकरण गर्न सक्यौँ भने संघ आफैँमा सशक्त र मजबुत बन्छ ।
भूमिकाको सवालमा हामी सबैले म होइन, हामी भन्ने भावनाको विकास गर्न सक्यौँ र मैले के पाएँ भन्ने भन्दा पनि हामीले के गर्न सक्छौँ भन्ने भावनाको विकास गर्न सकियो भने सहकारी क्षेत्रको योगदान प्रष्ट हुन्छ भन्ने मलाई लाग्छ ।
यहाँका अनुसार संघले भर्खरै नयाँ रणनीतिक योजना एवम् कार्यक्रमहरु बनाएको छ । यसको पूर्ण कार्यान्वयन कहिलेबाट आउँछ ?
चालू आर्थिक वर्षबाटै कार्यान्वयन प्रारम्भ भएको छ । यसको पूर्णताका लागि हामीले चार वर्ष समय खर्चिनु पर्ने हुन्छ ।
रणनीतिक योजना बनाउँदा प्रारम्भिक सहकारीले लाभ लिन सक्नेगरीका कार्यक्रमहरु कति परेका छन् ?
रणनीतिक योजनामा उल्लेखित कार्यक्रमहरु अधिकांश प्रारम्भिक संस्थाको हित र सहकारी अभियानको हितप्रति नै लक्षित छन् । प्रारम्भिक संस्थाले कस्ता–कस्ता कार्यक्रमको अपेक्षा गरेका छन् भन्ने सवालमा हामीले फागुन महिनामै गोष्ठी मार्फत् सूचना संकलन गर्नेछौँ र आवश्यक परेमा रणनीतिक योजनालाई परिमार्जन गरी हामी अगाडि बढ्छौँ ।
चालू वर्ष जिल्ला संघले नयाँ नेतृत्व पाउने वर्ष । कसरी–कहिले नयाँ नेतृत्व चयन गर्नुहुन्छ ?
हामीले २३औँ वार्षिक साधारणसभाबाट विनियममा आवश्यक संशोधन गरेका छौं र निर्वाचन निर्देशिका पनि पास गरेका छौं । हामीले निर्वाचन समिति पनि गठन गरिसकेका छौँ । अब फागुन महिनाभित्रै संघले नयाँ नेतृत्व प्राप्त गर्नेछ । यसका निम्ति निर्वाचन समितिले आफ्नो काम विनियम संशोधनपछि प्रारम्भ गर्नेछ ।
अन्त्यमा केही भन्नु छ कि !
आम सहकारीकर्मी सबै सहकारी क्षेत्रको विकासका निम्ति निरन्तर क्रियाशील बनौँ । आ–आफ्नो प्रारम्भिक संस्थालाई नीति, विधि, पद्धति र प्रविधिमा रुपान्तरण गर्दै अगाडि बढौँ । सरकारी, निजी र सहकारी क्षेत्रको योगदानलाई बराबरी पुर्याउनु हामी सबैको दायित्व हो । अतः ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण भाषणबाट होइन, कर्मबाट सम्भव छ भन्ने कुरा उत्पादन, भण्डारण, बजारीकरणको शृंखला निर्माणका निम्ति सबै लागौँ । यसैमा हाम्रो समृद्धि सम्भव छ ।
(झापा जिल्ला सहकारी संघ लि.का सचिव ढकालसँगको प्रस्तुत अन्तरवार्ता झापाको सहकारी सेरोफेरोमा पनि प्रकाशित छ ।)