हाम्रो समाजमा ज्योतिष शास्त्र र ज्योतिष विद्याको प्रचलन धेरै अघिदेखि चलिआएको छ । बोल्दा झनै उस्तै सुनिनाले समाजमा आम मानिस यी दुवै विद्या एउटै हुन्छ भन्ने मान्यता राख्छन् । वास्तवमा यी दुवै विद्या भिन्नाभिन्नै हुन् । ज्योतिष विद्या वा ज्योतिष शास्त्र Astrology तारा र ग्रहहरुले मानवीय क्रियाकलापलाई व्यापक रुपमा प्रभाव पार्छ भन्ने परम्परागत विश्वास पोषण गर्दछ भने ज्योतिष शास्त्रका साधकहरु जन्मकुन्डली पात्रो आदि बनाउने व्यवसाय गर्दछन् ।
ज्योतिष विद्या Astrology ले चाहिँ खगोलका चन्द्रसूर्यको साथै हजारौ ग्रह–नक्षत्रहरुको वैज्ञानिक अध्ययन गर्दछ । अतः ज्योतिष विद्या विज्ञानमा आधारित सत्यान्वेषी विद्या हो भने ज्योतिष शास्त्र चाहिँ परम्परागत बनिबनाउ पौराणिक मान्यता र विश्वासमा आधारित शास्त्र हो । ज्योतिष विद्या पूर्वीय, फारसी, युनानी आदि विभिन्न प्राचीन सभ्यताका भिन्न भिन्न आस्थामा आधारित आ–आफ्ना प्रकारको रहेको पाइन्छ । यता ज्योतिष विद्या वैज्ञानिक चिन्तन र प्रयोगमा आधारित र तथ्य–सत्यमा आधारित विद्या हो ।
सामान्य मानिस ज्योतिषविद् कहाँ नभएर ज्योतिषी कहाँ पुग्छ । कुनै पारिवारिक, मानसिक वा आर्थिक समस्याले पीडित भएर त्यसको हल खोज्न ऊ ज्यातिषीकहाँ पुग्छ । ज्योतिषीले उसको चिना वा हात हेरेर फलादि बताउने क्रममा विभिन्न अङ्कहरु जोड–घटाउ गर्दै मानिसको भूत–वर्तमान र भविष्य बताइदिने गरेकाले अनि आकाशमा रहेर मानिसका गतिविधिलाई नियन्त्रण गर्ने ग्रह–नक्षत्र र तिनले गरेको करतुत पत्ता लाग्दछ । त्यस्तो अरिष्टको पत्ता लगाई उपचारसमेत गरिदिने हुँदा मानिसहरु ज्योतिषीलाई खगोलविद् र ठूला ज्योतिष विज्ञानी ठान्ने गर्छन् । यी हाम्रो समाजको परम्परागत धारणा हुन् । सामान्यस्तरका देखि उच्च शिक्षित मानिस पनि यस धारणाले ग्रस्त भई अन्धविश्वासको आहालमा डुविरहेको पाइन्छ ।
ज्योतिष विद्याका साधकहरु मानिसको कुन्डली बनाउने, चिना हेर्ने, हात हेर्ने, पात्रो बनाउने, जन्मराशि हेरी नवजात बालकको नाम जुराउने, यात्रा, विवाह, ब्रतबन्ध, पास्नी, गृहनिर्माण, गृहप्रवेश आदिका निम्ति शुभ बार, बेला, मुहूर्त वा मिति निकाल्छन र तय गरिदिन्छन् । ज्योतिषीहरु विवाहको लग्न बताउने, विवाह गर्ने केटा वा केटी कस्तो हुने, खोज्न कतापटि कुन दिशा जानुपर्ने, उसको रङ्ग, उचाई, होचाई, पढाई, लक्षण, उसको बाबु आमा के कति, दाजुभाइ वा दिदी बहिनी के कति, उसको स्वभाव, कोठी वा अन्य चिनोसमेत बताइदिएर त्यसै अनुसार पात्र–पात्री खोज्ने परामर्श दिन्छन् । औकात अनुसार यिनीहरु घरैमा बसेर आफ्नो ग्राहकहरुको अपेक्षा गर्छन् भने साइनबोर्ड राखी बजारमा बस्ने, अखबारमा विज्ञापन प्रकाशित गरी होटलहरुमा भेटी, सेवाकांक्षीहरुलाई सेवा दिने पनि गर्छन् ।
त्यस्तै कोही बजार वा मानिस आवतजावत गर्दा देखिने पायक पर्दाे ठाउँमा हातको नक्सा राखी, कसैकसैले चरा र खाम राखी मानिसको भाग्य बताइदिन्छन् । युगको गतिलाई समातेर केही ज्योतिषीहरु हिजोआज कम्प्युटरबाट पनि मानिसको भाग्य बताउने गर्छन् । त्यस्ता ज्योतिषीहरुले मानिसका बक्री (अरिष्ट) ग्रह पत्तालगाई आफैँ उपचार गर्नुका साथै सम्बन्धित सेवाग्राहीलाई नै उपचार गर्ने उपाय सुझाउँछन् । यसोगर्दा अरिष्ट ग्रहहरुको निर्धारित सङ्ख्यामा जाप (जप) गर्ने विभिन्न पत्थर, धातु, घोडाको टाप, हात्तीको पुच्छरको भुत्ला, खाग आदि औंठी, जन्तर आदिमा धारण गर्ने, भिन्नभिन्न पदार्थ ब्राह्मण, जोगी, बटुवालाई दानगर्ने वा विशेष प्रकारको खाद्य द्रव्य दिने वा खुवाउने, भेडा, घोडा, गधा भिन्नभिन्न रङको बाख्रा, बोका, भेडा आदि पाल्ने अथवा कुनै खोलामा, तीर्थमा, देवी–देउराली थानमा लगेर बलि चढाउने वा तोके अनुसारका लुगा लगाउने, दान गर्ने, तान्त्रिक कहाँ गई भूत, प्रेतको पूजा गर्ने, मन्साउने, ब्रत लिने, पुराणादि धार्मिक कार्य सम्पन्न गर्दे अरिष्टबाट बच्ने, मुक्त हुने सल्लाह, परामर्श दिन्छन् ।
ज्योतिष शास्त्र अनुसार सूर्य घुमिरहेछ । सूर्य स्थिर पृथ्वीका वरिपरि घुम्दा दिन र रात हुन्छ । त्यसकारण ज्योतिष शास्त्रमा सूर्यको एक निश्चित गतिपथ कल्पना गरिएको छ । यस गतिपथलाई १२ भागमा विभाजन गरी त्यसको नाम राशिचक्र राखिएको छ । सूर्यको गतिपथ कल्पनामा आधारित रहेको हुनाले राशिचक्र पनि कल्पनामा नै टिकेको कुरो स्वतः सिद्ध छ । त्यसैले ज्योर्तिविद्हरुको राशिचक्र, राशि र राशिफल पनि कोरा कल्पना हो, सत्य होइन । ज्योतिष शास्त्रका प्रयोक्ता ज्योतिषीहरु जातकको जन्म नक्षत्र थाहा भएपछि उसको भविष्य सम्बन्धी सबैकुरा जानिन्छ भनी भन्दछन् । उनका अनुसार साधारणतः जातक जन्मेको बेला चन्द्रमा जुन राशिमा हुन्छ, त्यसलाई जन्म राशि भनिन्छ । जातक जन्मेको बेला पूर्व आकाशमा जे राशि हुन्छ त्यसलाई जन्म लग्न भन्दछन् । ज्योर्तिविदहरुका अनुसार राशि नै मिथ्था हुन् भने जन्मलग्न पनि मिथ्यै हुन्छ ।
महाकाशमा करोडौ–अरबौँ नक्षत्र छन् । तर ज्योतिषीहरु चाहिँ केवल २७ वटा मात्र रहेको मान्छन् र तिनैको गणना गर्छन् । अर्काे कुरा, यसै देख्दा पनि चन्द्रमाको छेउमा कुनै नक्षत्र छैन र हुनै पनि सक्दैन । त्यसै पनि सूर्य भन्दा अरु नक्षत्र सयाँै–हजारौँ प्रकाश वर्षको दूरीमा छन् । २७ वटा नक्षत्रले हाम्रो भविष्य र यावत कुरा निर्धारण गर्छ, अनि लग्नको नक्षत्र थाहा भएपछि उसको सूदीर्घ भविष्यको कुरा थाहा हुन्छ भन्ने कुरा विज्ञानमा आएकाले ज्योर्तिविज्ञानलाई मान्य नहुनु स्वाभाविक हो । वस्तुतः मान्छेको भविष्य–स्वभावको निर्धारण त उसको जीनले गर्छ भनी वैज्ञानिकहरु मान्छन् ।
स्वामी विवेकानन्दले पनि मान्छे आफैँ आफ्नो भाग्यको निर्माता भएको विवेकानन्दका वाणी र रचनामा बताएका थिए । ज्योतिषको गणना र अड्कल गीतामा विश्वास गर्ने मनोरोग नै हिन्दूहरुको अत्यन्त हानिगर्ने कुसंस्कार मध्येको एक हो भन्दै उनले ज्योतिष र यसका मतियार टुनामुना, झारफुक, हातहेर्ने जस्ता रहस्यमय कुरामा भरपर्नु भनेको दुर्बल चित्तवृत्तिको लक्षण बताएका छन् । जब मनमा त्यस्तो मनोवृत्तिको प्राधान्य हुन्छ, तुरन्त मनोचिकित्सककहाँ सल्लाह लिन जानु बुद्धिमानी हुन्छ भन्ने अर्ति स्वामी विवेकानन्दको रहेको छ ।
ज्योतिषीहरुका विपरित ज्योर्तिविद्याका अगुणीहरु भने टेलिस्कोपजस्ता दूर निरीक्षक यन्त्रादिको प्रयोग गरी दिनानुदिन खगोलीय ग्रहनक्षत्र, पिण्डहरु तथा वहिर्जगतीय तत्वहरुको अवस्थान गतिविधिहरुको निरीक्षण गर्दछ । विभिन्न खगोलपिण्डहरुमा परिलक्षित रासायनिक, भौतिक तथा भौगर्भिक परिवर्तन, नव ग्रह–नक्षत्रभरिको अवलोकन, गतिविधि निरीक्षण, ग्रह–नक्षत्रादिको पारस्परिक दूरी निरुपण, विभिन्न ग्रहको, उल्कापिण्डहरुको गतिपथ निर्धारण, परीक्षण र बल्याकहील (कृष्ण गहवर), सूर्यादि नक्षत्रबाट मानवीय हित वा उपकारका निम्ति प्राप्त हुने उर्जाका साथै विविध नव–नव विषयमा गवेषणा गर्छन् ।
ज्योतिर्विदहरुका अनुसार ग्रह नौवटा छन् । बुध, शुक्र, मङ्गगल, पृथ्वी, वृहस्पति, शनि, युरेनस, नेपच्यून र प्लुटो । ज्योतिषीहरुका अनुसार पनि ग्रह नौवटै (नवग्रह) छन् । ती हुन– सूर्य, चन्द्र, मङ्गल, वुध, वृहस्पति, शुक्र, शनि, राहु अनि केतु । स्कूलमा पढ्ने विद्यार्थीहरुले पढेअनुसार सूर्यनक्षत्र पो हो त अनि चन्द्रमा पृथ्वीको परिक्रमा गर्ने पृथ्वीको उपग्रह हो भनी पढ्छन् । अनि पृथ्वीले सूर्यको वरिपरि परिक्रमा गर्दछ भनी पनि पढेका हुन्छन् । ज्योतिर्विद्हरुले अर्काले देखेर पाठ्यपुस्तकमा सामेल गरेको कुरालाई ज्योतिषीहरुले गलत ठहराएको कुरा पनि यहाँनिर विवेध्य रहेको देखिन्छ ।
ज्योतिषीहरु सूर्यग्रहण चन्द्रग्रहण हुँदा सूर्य वा चन्द्रमालाई राहुले ग्रास गरेको भन्दै ग्रहण लाग्नुभन्दा ४–५ घन्टा पूर्वदेखि नै कुत लाग्छ भनी हत्तपत्त खानेकुरा त्याग गर्छन् । ग्रहण लागेको कसले, कुन राशिले हेर्नु हुन्छ, कुन राशिले हुँदैन भनी पात्रो–पञ्जिकाहारा पहिले हेरेर ग्रहण हेर्दाका लाभ–हानी लेखिदिएका हुन्छन् । ज्योतिषीहरुले ग्रहण नहेर्नु र त्यसो नगरी कुन शुभकार्य गर्न नपाइने कुरा पनि एलान गरेका हुन्छन् । ज्योतिर्विदहरु भने ग्रहणको कुत लाग्छ भन्ने कुरा पत्याउँदैनन् । सावधानीपूवक ग्रहणको निरीक्षण गर्न उनीहरुले आग्रह गरेको पाइन्छ । परिक्रमाको क्रममा सूर्य, पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा सूर्यको उज्यालो छेलिएमा सूर्य ग्रहण अथवा चन्द्रमा बीचमा आएर पृथ्वीको छायाँ चन्द्रमामा परेमा चन्द्रग्रहण हुन्छ भन्ने वैज्ञानिक अवधारणालाई ज्योर्तिविद्हरु भन्ने गर्छन् । अँ, अरु ग्रह झैं चन्द्र र पृथ्वी गोलाकार रहेको प्रमाण पनि ज्योर्तिविद्हरु चन्द्र वा सूर्यग्रहणबाट स्पस्ट हुने बताउँछन् ।
ज्योतिषीहरु ग्रह–नक्षत्रमा गुढ र अलौकिक शक्ति हुन्छ र त्यसैकारण तिनीहरु आफू पनि घुम्छन् (तर कहाँ, कसको वरिपरि, के को प्रमाणले भन्ने प्रमाण स्पस्ट हेर्ने) र त्यही शक्तिद्वारा पृथ्वीका मानिसलाई पनि घुमाउँछन् र मानिसको भाग्य तथा जीवनलाई नियन्त्रण गर्छन् भन्ने भ्रान्त धारणा राख्छन् र अरुलाई पनि भ्रान्त पार्न खोज्छन् । वास्तवमा आकाशमा हजारौँ–लाखौ माइल टाढा रहेका र आफ्नै गतिपथमा श्रृङ्खलित भएर नियमानुसार युगौँयुगदेखि चलायमान आकाशीय पिण्ड वा ग्रह–नक्षत्रहरुको व्यक्ति व्यक्तिमा भिन्न भिन्न रुपले त्यस्तो ठूलो प्रभाव पर्दैपर्दैन, पुथ्वीमाथि पनि अति सामान्य रुपले पर्छ ।
अन्धविश्वासी र दुर्वल मनस्थितिको मान्छे अलिकति संकटमा परी असहाय विरुप अवस्थामा पर्नासाथ समस्याको समाधान खोज्न कुनै जादुगरी अलौकिक शक्तिको शरणापन्न हुन खोज्छ र त्यसको भरपर्न खोज्छ । पृथ्वी बाहिरको कुनै अलौकिक शक्तिले आफ्नो भाग्य–भविष्य नियन्त्रण गरिरहेको ठानी मानसिक रोगाक्रान्त भई सर्वज्ञ सावित गर्न पसल थापेर बसेको अल्पज्ञ देवज्ञ कहाँ पुग्छ । वास्तवमा मान्छेमा यस संसारमा हरघडी संघर्षको सामना गरिनेै रहनुपर्छ । आफ्नो भाग्य आफैंमा निर्भर गर्छ र अवश्य कुनै शक्तिमा हुन्छन् भन्ने विश्वास हुनुपर्छ ।
व्यापारिक शैली अनुगमन गर्ने हो भने ज्योतिषी, पुरोहित र पत्थरका व्यापारीहरु एक अर्काका सहयोगी प्रतीत हुन्छन् । सांसारिक सामान्य मान्छे अलिकति व्यावहारिक उतारचढाव हुनासाथ आफूले पुजेका पुरोहितसँग सल्लाह लिन्छ, पुरोहितले ग्रहको खेल भनी ज्योतिषीकहाँ पठाउँछ । ज्योतिषीले केही न केही ग्रहरीष भएको ठम्याउँछ र गुरुलाई यति लाख फलानो ग्रहको जप गराउन फलानो हातको फलानो औँलामा फलानो पत्थर धारण गर्नु भनी पत्थर व्यापारीकहाँ पठाउँछ । अनि अन्धविश्वासी त्यो निरीह व्यक्ति त्रिकोणीय शोषणको शिकार बन्न पुग्छ ।
बबुरा पुरोहितले ज्योर्तिमण्डलका अरबौँ टन वजन भएका ग्रह नक्षत्रलाई यहाँबाट मन्त्र उच्चारण गरेका भरमा स्थानान्तरण गरी अनुकूल पार्नसके सर्वप्रथम आफ्नै ग्रह सार्ने थियो होला ? पाचँतले घर बनाई आरामले गृहस्थ चलाउँथे होला । घरघर डुलेर भिजेका चामल बटुल्ने दुःख किन गर्थे होला ! ग्रह त जड पदार्थ हो, खुशी हुनु नहुनु त चेतनको पो व्यापार हो त । ज्योतिषीहरु बक्री भएछ भनी आकाशका ग्रहको जाप, पूजा गराउँदैछन् तर आफू जन्मे, हुर्केबढेको पृथ्वी चाहिँ जाप गराँउदैन कि टाढाको ग्रहको चाहिँ मान्छेमा प्रभाव हुने, आफँैले टेकेको धर्तीको चाहिँ प्रभाव हुन्न ? यसको पूजागर्दा पाप त नलाग्नु पर्ने हो ।
आज विज्ञानले अकल्पनीय उन्नति गरेको छ । ज्योतिर्विज्ञान पनि विज्ञानकै अंश हो । ब्रह्माण्डका तारापुञ्ज, तिनको गतिपथ, विभिन्न ग्रह–उपग्रहको खोजी, तिनीहरुबाट प्राप्त हूने परावैज्ञानिक तथा रहस्यहरुको उद्घाटन ज्योतिर्विद्याको उपलब्धि आजको गौरवपुर्ण कुरा हो । यस्तो युगमा पनि मानिस पात्रो हेरेर यात्रा आरम्भ गर्ने, बाहन किन्ने, बाहनको रङ चुन्ने, विवाह ब्रतबन्ध गर्ने गर्छन् । ज्योतिषीहरु वा पात्रो बनाउनेले सूर्य र चन्द्रग्रहण लाग्ने बाहेक अरु कुनै कुरा ज्योतिर्विज्ञानलाई मानेर गरेका हुँदैनन् । यस बाहेक अरु सबै कुरा ज्योतिर्विज्ञानका परिपन्थी कुरा गरेका हुन्छन् । चन्द्र, सूर्य, राहु, केतु आदिलाई ग्रह बताएर त्यसैलाई सत्य बनाउने पेशा चलाएर मान्छेलाई अझ बढी मुर्ख बनाउने मात्र नभएर ज्योतिषीहरुले आफैंले पनि मुख्र्याईंको पराकाष्टा देखाइरहेका छन् ।
ज्योतिषबाट वारम्बार ठगिएर पनि मान्छे चेत्दैनन् । मिथ्यामा दर्शनमा आधारित ज्योतिषीहरुको प्ररोचनामा आज पनि हजारौँ मान्छेको विश्वास रहेको देखिन्छ । बाल्यकालदेखि ठूलाबडाको मुखबाट सुन्दासुन्दा बनेको बन्दमूल धारणा, मानिसको जीवनको अनिश्चयका साथै जीवनमा वैज्ञानिक दृष्टिभङ्गीको अनुपस्थिति र वौद्धिक चिन्तन बहसको अभावले गर्दा मानिसहरु ज्योतिषीका जालमा फस्दछन् ।
ग्रह–नक्षत्रको नक्कली अवस्था अनि त्यसबारे नाना देखावटी हिसाब किताबको प्रपञ्च, फूल भरेका कुण्डलीका नानाप्रकारका कोठासोठा बनाएर गरिने भरसक अरुले बुझ्न नसक्ने पद्धति देखेर साधारण विचार भएका साधारण मानिसहरु विज्ञानमा आधारित महान विद्या भनी ठान्ने गर्छन् । मानिसको दैनन्दिन कामका निम्ति वर्ष, महिना, गते, बारसम्म थाह पाउन एउटा क्यालेण्डरले जत्ति पुग्छ । पात्रो वा अरु कुनै पञ्जिकाको कुनै प्रयोजन नै छैन । चन्द्रशुद्धि, नक्षत्रशुद्धि, बारबेला, कालबेला, योगिनी आदि पात्रामा भएका व्यवधानहरुको कुनै वास्तविकता छैन, वैज्ञानिकता छैन । सबै मिथ्या कल्पनामा आधारित छन् । दृढ प्रतिज्ञ मनले मानिसले जे जस्तो कार्य गरे पनि हुन्छ । त्यसको काम सफल हुन्छ पनि । राम्रो काम गर्न कुनै बार, बेला, नक्षत्र, मुहूर्त जुराउनु पर्ने आवश्यकता छैन ।
राशिफल काल्पनिक कुरा हो भनी भनिएको छ । त्यस्तो काल्पनिक कुरा आजका वैज्ञानिक युगका रेडियो, टेलिभिजन र अखबारवाट प्रसारण गरेर भ्रमको खेतीलाई बढावा दिनु वा अवैज्ञानिकतालाई प्रचार गर्नु लज्जास्पद कुरा हो । सबै वैज्ञानिक मिडियाले राशिफल छाप्नु या प्रसारण गराउनु वौद्धिक अपरिपक्वताको परिचय भएकाले यसको वहिस्कार गर्नुपर्छ ।
(गतहप्ता निधन हुनुभएका डा. पौडेलले हिन्दू दर्शनका नाममा बढ्दै गएको ठगी प्रवृत्तिप्रति अनुसन्धान गरी तीन वर्ष अगाडि लेख्नुभएको आलेख सान्दर्भिक लागेर प्रकाशन गरिएको हो । सम्पादक)