
नायक अक्षय कुमार र नायिका साराअली खानको सहकार्य पक्का भएको छ । आनन्द एल राईको निर्देशनमा बन्न लागेको चलचित्र ‘अत्रङ्गी रे’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । चलचित्रमा धनुषको पनि मुख्य भूमिका रहनेछ ।
अक्षय र साराले एउटै चलचित्रमा काम गर्ने भएपछि यतिबेला सामाजिक संजालमा यो बिषय गर्मिलो बनेको छ । अक्षय र साराका पिता सैफअली खानले केही चलचित्रमा काम गरेका छन् । अब, अक्षय उनै सैफकी छोरी सारासँग पर्दामा देखिदैछन् ।
अहिले साराले बलिउडमा आफ्नो गज्जबको क्रेज बनाएकी छिन् । ‘केदारनाथ’बाट डेब्यु गरेकी साराले पहिलो चलचित्रबाट नै सफलता पाएकी थिइन् । दोश्रो चलचित्र ‘सिम्बा’ले पनि सारालाई सफलता नै दियो । अहिले सारा अभिनित चलचित्र ‘लभ आजकल’ रिलिजको तयारीमा छ ।
सारा अक्षयसँग काम गर्न पाउँदा निकै खुसी छिन् । उनले भनेकी छिन्–‘अक्षय सर मेरो मनपर्ने नायक हुनुहुन्छ । उहाँको चलचित्र धेरै हेरेको छु । उहाँसँग सहकार्य गर्न पाउनु मेरो लागि सौभाग्य हो ।’ त्यस्तै सारासँग काम गर्न अक्षय कुमार पनि उत्साहित छन् । ‘सारा अहिले निकै राम्रो सम्भावना भएकी नायिका हुन्’, अक्षयले बलिउड मिडियासँग भनेका छन्–‘अब मैले नयाँ पुस्ताका कलाकारहरुसँग काम गरेर नयाँ कुराहरु सिक्नेछु ।’
दुई पुस्ताका कलाकारलाई एकसाथ पर्दामा देख्न पाउने कुराले दर्शकमा खुसी मिलेको छ । ‘अत्रङ्गी रे’लाई भुषण कुमार र आनन्द एल राईले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । हिमांशु शर्माले लेखेको चलचित्रको छायांकन मार्च १ बाट सुरु हुने बताइएको छ ।