२०८१ पौष १०, बुधवार , ०६:३९:४७ बजे

Sajhamanch
'

‘मेरो मृत्यु पछि मलामी त जानुहोला तर मैले देख्न पाउँदिन, आज भेट्न पाएँ खुशी छु’ : पूर्वप्रधानाध्यापक सञ्जेल (भिडियोसहित)

बिहिवार, माघ १६, २०७६

बिर्तामोड । गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेवो महेश्वर । गुरु साक्षात, परम ब्रह्मा, तस्मै श्री गुरवे नमः ।। यही गुरुमन्त्रलाई भानु माद्यमिक विद्यालय अर्जुनधारा ५ फूलबारीका पूर्व विद्यार्थीहरुले आज आत्मसात गरेका छन् ।

सरस्वती पूजाको अवसर पारेर सो विद्यालयका पूर्वप्रधानाध्यापक ताराप्रसाद सञ्जेल पूर्व विद्यार्थीहरुबाट सम्मानित भएका हुन् । इलामको नाम्सालिङमा जन्मिएर २० वर्षको युवावयमा वि. सं. २०२९ साल पुष २ गते सहायक शिक्षक बनेर सो विद्यालयको आँगन टेकेका सञ्जेल ३४ वर्ष प्रधानाध्यापक समेतको भूमिका निर्वाहा गरी २०६८ साल असार २६ गते सेवा निवृत्त भएका थिए । २०३४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा नामजस्तै चम्किलो काम गरेका सञ्जेललाई २०२९–२०६८ ब्याचका विद्यार्थीहरुले आज सम्मान गरेका हुन् ।

गुरु सम्मान कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पूर्व विद्यार्थी देवराज बुढाथोकीले पूर्वप्रधानाध्यापक सञ्जेलले आफूहरुलाई शिक्षाको उज्यालो ज्योति प्रदान गर्नुभएको बताए । उहाँले विद्यालयको प्रधानाध्यापक रहँदा हामीलाई जसरी गुणस्तरीय शिक्षा प्रदान गर्नुभयो त्यसैगरी नेपालकै उत्कृष्ट सहकारी संस्था सहारा नेपालको नेतृत्व गरेर यहाँका बासिन्दाको सामाजिक तथा वित्तीय अवस्थामा व्यापक रुपान्तरण गर्नु भएकाले सम्मान गर्न लागिएको बताए ।

मिर्गौला रोगसँग पौंठेजोरी खेलिरहेका पूर्वप्रधानाध्यापक सञ्जेल अहिले हप्ताको तीन पटक डायलासिस गरेर मृत्यु जित्ने प्रयासमा छन् । उनको सो प्रयासमा थोरै भए पनि साथ दिन स्वदेश तथा विदेशमा रहेका पूर्वविद्यार्थीहरुले उपचार सहयोग स्वरुप तीन लाख तीन हजार २१५ रुपैयाँ संकलन गरी कार्यक्रममाझ हस्तान्तरण पनि गरेका छन् ।

विद्यालयका पूर्व विद्यार्थी तथा हाल अर्जुनधारा वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीको अध्यक्षतामा पूर्व विद्यार्थी तथा हाल मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज खातीको प्रमुख आतिथ्यमा विद्यालय प्राङ्गणमा गुरु सम्मान गरिएको हो ।

सो कार्यक्रममा पूर्व विद्यार्थीहरुको तर्फबाट सम्मानपत्रसहित नगद सहयोग हस्तान्तरण गरिएको छ भने विद्यालयको तर्फबाट दोसल्ला ओडाउँदै कदरपत्र प्रदान गरियो । यसैगरी सो विद्यालयका पूर्व विद्यार्थी, लायन्स क्लब अफ तरहरा इटहरीका वर्ष २०१९–२० का अध्यक्ष मेनुका गिरीले प्रशंशापत्र प्रदान गरिन् ।

सम्मान ग्रहण पछि पूर्वप्रधानाध्यापक सञ्जेलले आफू मृत्युसँग लडाईं गरिरहेको अवस्थामा पूर्वविद्यार्थी एवम् सहकर्मीहरुबाट यस्तो सद्भाव पाउँदा हर्ष लागेको बताए । ‘तपाईंहरुसँग फेरि भेट हुन्छ कि हुँदैन ! मेरो मृत्यु पछि मलामी त जानुहोला तर मैले देख्न पाउँदिन ! आज भेट्न पाएँ खुशी छु’ भन्ने भावुक वाक्य सुनाउँदै उनले यस्तो अवसर जो कोहीले नपाउने विश्लेषण पनि गरे ।

पूर्वजलाई यसरी सम्झिनु, बिरामी परेको बेला उपचार गर्न आर्थिक सहयोग प्रदान गर्नुजस्ता संस्कार दर्शाउँदा आफूहरुले यी विद्यार्थीहरुलाई सही शिक्षा र संस्कार दिइएछ भन्ने लागेको उनको भनाई छ । विद्यालय प्रवेश गरेदेखि निवृत्त भइन्जेलसम्म विद्यालयको उन्नयनमा सहयोग गर्ने थुप्रै मनहरुप्रति आभार व्यक्त गर्दै उनले भावी पिंढीलाई असल संस्कार सिकाउन सबैको साथ रहनुपर्ने सुझाव दिए ।

कार्यक्रममा बोल्ने सबै पूर्व विद्यार्थहरु एवम् विद्यालय व्यवस्थापन समितिका पूर्वजहरुले सञ्जेलको प्रशासन सञ्चालन गर्ने ढाँचा एवम् योगदानको मुक्तकण्ठले प्रशंशा गरे । पूर्वविद्यार्थीहरु रामकुमार बुढाथोकी, पूर्ण चौहान, प्रशान्त भण्डारी, नेत्र नेपाल, दिपेन्द्र लम्साल, गणेशबहादुर खड्का, मेनुका गिरीलगायतले बोलेका थिए ।

सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपक दाहाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एलबी गिरी, सामाजिक कार्यकर्ता भरत गिरीले आफ्ना धारणा राखेका थिए ।

पूर्वविद्यार्थी टेकनाथ गिरीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि ध्रुवराज खातीले आफूलाई अध्यापन गराउने शिक्षकहरुलाई देख्दा बोल्ने, सम्मान गर्ने, सजिला अप्ठ्याराहरु सोध्ने बानीको विकास गर्नुपर्ने सुझाव दिए । शिक्षक तथा गुरुलाई राजाले पनि सम्मान गर्ने गरेको प्रसंग कोट्याउँदै उनले सामुदायिक विद्यालयका शिक्षकहरुलाई समाजमा पनि सम्मानको व्यवहार गरिने बताए ।

(भिडियोसहित)