२०८१ माघ १६, बुधवार , १२:५५:५६ बजे

Sajhamanch
'

नेकपा एकता महाधिवेशन २०७७ चैतमा

बुधवार, माघ १५, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता महाधिवेशन २०७७ चैतको अन्तिममा हुने भएको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त प्रतिवेदनमा एकता महाधिवेशन ०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव गरिएको छ । अध्यक्ष प्रचण्डले बुधबार राष्ट्रिय सभामा शुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा ०७७ भदौमा स्थानीय तह, मंसिरमा प्रदेश अधिवेशन र चैत अन्तिममा एकता महाधिवेशन गर्ने उल्लेख छ ।

पूर्व–एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि पहिलो पटक नेकपा केन्द्रीय समितिमा बुधबारदेखि एजेन्डागत छलफल शुरु गरेको हो । आमन्त्रित स्थायी समिति सदस्यसहित केन्द्रीय समिति बैठकमा ४४७ सदस्य सहभागी छन् । सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन हुनेछन् । एउटा समूहमा २९ नेता रहने छन् । यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडामा छलफल गर्नेछन् ।

केन्द्रीय समितिको पहिलो दिन बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राखेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रचण्डले दुई अध्यक्षले तयार पारेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि महासचिव विष्णु पौडेलले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गरेका छन् । केन्द्रीय समिति बैठकमा एजेण्डागत छलफल १५ समूहमा बिहीबारदेखि शुरु हुने जनाइएको छ । यो समूहमा सचिवालय सदस्य भने सहभागी हुने छैनन् ।