झापा । नेपाल भौतिक विज्ञान समाजले लिथुवानियाको भिल्निअसमा हुने ५१औं अन्तर्राष्ट्रिय फिजिक्स ओलम्पियाड २०२० र ताइवानको ताइपेईमा हुने २१औं एशियन फिजिक्स ओलम्पियाड २०२० मा सहभागिताको लागि प्रथम चरणको छनौट परीक्षा माघ ११ गते बिर्तामोडमा सम्पन्न गरिएको छ ।
नेपालभर १२ वटा केन्द्र राखेर गरिएको उक्त परीक्षाका लागि पहिलो पटक झापाको बिर्तामोडस्थित कोहेड कलेज परेको हो । प्रदेश १ मा बिराटनगर र बिर्तामोडमा परीक्षा सम्पन्न भएको हो । कक्षा ११ वा १२ वा सो सरह अध्ययनरत २० वर्ष ननाघेको विद्यार्थीलाई सहभागिताको अवसर दिइए बमोजिम कोहेड कलेज सेन्टरमा ८ वटा विद्यालयबाट २१ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
कोहेड कलेज परीक्षा केन्द्रमा बिर्तामोडका कोहेड कलेज, देवी मावि, निधि मावि, वीर अमरसिंह मावि, धुलाबारी मावि धुलाबारी, दमक बहुमुखी क्याम्पस दमक, पञ्चायत मावि पथरिया, राधिका मावि उर्लाबारीका विद्यार्थी सहभागी थिए ।