भद्रपुर । मञ्जुश्री संम्वत २८५६ को अवसर पारेर नेपाल तामाङ घेतुङ संघ भद्रपुर नगर समितिले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
तामाङ समुदायको रीतिरिवाज तथा भेषभुषासहित वौद्ध धर्मालम्वीहरूको नयाँ वर्षका रूपमा संघले साँस्कृतिक पर्व सोनाम ल्होसारलाई विविध कार्यक्रम गरी भद्रपुर १० स्थित दे छोलिङ गुम्बामा कार्यक्रम सम्पन्न गरिएको हो ।
संघका भद्रपुर नगर समिति अध्यक्ष बसन्तकुमार मोक्तानको अध्यक्षता तथा केन्द्रीय सदस्य राजकुमार वाङदेनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज व्यक्तित्व सम्मानबाट ८० वर्षीय प्रेम वमजन र ७२ वर्षीया बुद्धिमाया थोकरलाई सम्मानित गरिएको थियो भने एकल महिला पुष्पा रूम्बा, पार्वती जिम्वा, नारायणकुमारी पाख्रीन र शान्ति तामाङलाई सम्मान गरिएको थियो । यसैगरी संघको उत्थानका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने दाताहरू चन्द्रबहादुर गोले, सोनाम शेर्पा, लोकेन्द्रबहादुर थिङ र मोतीबहादुर बम्जनलाई समेत सम्मानित गरिएको थियो ।
सर्जमान थेङले तामाङ परम्परा अनुसार ताम्बको भूमिका निर्वाहगरी सुरू भएको कार्यक्रममा नेकपा भद्रपुर नगर इन्चार्ज अशारू राजवंशी, नेपाली काँग्रेस झापा ३ नम्वर क्षेत्रीय सभापति गणेश पोखरेल, चन्द्रगढी सामुदायिक वन समितिका अध्यक्ष हिराप्रसाद पोखरेल, नेपाल तामाङ घेतुङ संघ झापा जिल्ला सचिव चन्द्र दुम्जन तामाङ, बाल क्लब भद्रपुर १० की सचिव मञ्जिता वि क लगायतले शुभकामना मन्तव्य राखेका थिए । नगर समितिकी उपाध्यक्ष शानित तामाङले स्वागत र पूर्व अध्यक्ष खगेन्द्र तामाङ सञ्चालन गरेको कार्यक्रममा विविध साँस्कृतिक झलक सहितका तामाङ सभ्यता र परम्परागत साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।