काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
यही माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय नेपाली टोली घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा घोषणा भएको टोलीमा सोमपाल कामी र वसन्त रेग्मी भने टोलीमा अटाएका छैनन् । सोमपाल अस्वस्थ भएका कारण टोलीमा अटाएनन् भने वसन्त पारिवारीक कारणले टोलीमा स्थान बनाउन असफल भए ।
तर, उनीहरूको स्थानमा कुशल मल्ल र कमलसिंह ऐरीले छन् । उनीहरू पहिलो पटक स्थान बनाउन सफल भएका छन् । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुसान भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी रहेका छन् ।
यस्तै वैकल्पिक खेलाडीमा पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा र किशोर महतो रहेका छन् । तीन देश सम्मिलित आइसीसी विश्वकप क्रिकेट लिग २ नेपाल, ओमन र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन् ।