
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको एउटा समूहले काठमाडौंको गोकर्ण रिसोर्ट अगाडि आज प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यति होल्डिङ्सलाई गोकर्ण रिसोर्ट कौडीको मूल्यमा दिएको भन्दै नेविसंघले प्रदर्शन गरेको छ।
नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै यती होल्डिङ्सलाई थप २५ वर्षका लागि दिइएको भन्दै चर्को आलोचना भइरहेको छ। यस्तोमा नेविसंघका विद्यार्थीहरु प्रदर्शनका लागि गोकर्ण रिसोर्ट अगाडि पुगेका नेता नवराज त्रिपाठीले जानकारी दिए।
यतीलाई कौडीको भाउमा २५ वर्षका लागि लिजमा दिने केपी ओली नेतृत्वको सरकारको निर्णयविरुद्ध प्रदर्शनमा उत्रिनुपरेको नेविसंघका एकजना नेता मनिष सिम्खडाले बताए।
विरोध प्रदर्शनका क्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेसहितका नेताहरुले बोलेका थिए।
विरोध प्रदर्शनका क्रममा नेविसंघका नेता गोपी शिवाकोटी, निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी, नेपाली कांग्रेस काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, संविधान सभा सदस्य दीपक कुइँकेलले पनि बोलेका थिए।
थाहाखबर