२०८१ असोज ४, शुक्रवार , ०५:३७:५६ बजे

Sajhamanch
'

सिलगडी–चारआली पेट्रोलियम पाइपलाइनका लागि पाँच अर्ब लाग्ने

मङ्गलवार, माघ ७, २०७६

काठमाडौं । भारतको सिलगडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउन र भण्डारण स्थल बनाउन करिब ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। सिलगडी–चारआली पाइपलाइनका लागि गरिएको पूर्वसम्भाव्यता अध्ययनले यो परिमाणमा खर्च लाग्ने देखाएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लेखेका छन् ।

नेपाल आयल निगमले पुलचोक इन्जिनियर कलेजलाई पूर्वसम्भाव्यता (प्रि फिजिविलिटी) अध्ययनको जिम्मा दिएको थियो। कलेजका सिभिल इन्जिनियरिङ विभागका सहप्राध्यापक नारायणप्रसाद गौतमका अनुसार सिलगडी–चारआली पाइपलाइन र चारआलीमा इन्धनको ९० हजार किलोलिटर भण्डार गृह निर्माण निर्माण गर्न चार अर्ब ७८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यस अन्तर्गत काँकडभिट्टादेखि मेचीनगर १३ स्थित चारआलीसम्म पाइपलाइन ओछ्याउन एक अर्ब १९ करोड र भण्डार गृह निर्माण गर्न तीन अर्ब ५९ करोड खर्च लाग्ने गौतमले जानकारी दिए।

‘हामीले पाइपलाइन ओछ्याउने काम र भण्डार गृह निर्माण गर्ने काम उपयुक्तका साथै भविष्यका लागि समेत यो निकै किफायती र सहज हुन सक्छ भनेर सुझावसहित प्रतिवेदन बुझाइसकेका छौं’ गौतमले भने, ‘इस्टिमेट गरिएको लागत खर्च विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)को क्रममा थपघट हुन सक्छ।’

पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन कन्सलटेन्सी समूहले निगमलाई जिम्मा लगाइसकेको छ। यही अध्ययनको आधारमा निगमले काँकडभिट्टा–चारआलीसम्मको १३ किलोमिटर खण्डमा पाइपलाइन विस्तार गर्ने योजनालाई अघि बढाउँदैछ।

सिलगडीस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी)को डिपोसम्म पाइपलाइन पहिलेदेखि सञ्चालनमा छन्। यो पाइपलाइन निर्माण भएको खण्डमा भारतसँग अन्तरदेशीय इन्धन आयात गर्ने दोस्रो पाइपलाइन मानिनेछ।

निगमले चारआलीमा भण्डार गृह निर्माण र पाइपलाइन आयोजना निर्माण गर्न ६२ करोड ६३ लाख रुपैयाँ खर्चेर २३ बिघा तीन कट्ठा १३ धुर जग्गा खरिद गरिसकेको छ।

यसैबीच पुस २७ र २८ गते भारतमा सम्पन्न भएको नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी संयुक्त कार्यदल (सहसचिवस्तरीय संयन्त्र) को बैठकले पनि सिलगडी–झापा (चारआली) पाइपलाइन निर्माण गर्ने विषयमा सहमति जनाएको छ। संयुक्त कार्यदल निर्माण पश्चात पहिलोपटक बैठक भएको हो।

नेपालका तर्फबाट कार्यदलको प्रतिनिधित्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेका अनुसार उक्त पाइपलाइन निर्माणका लागि नेपाल–भारत संयुक्त अध्ययन टोली बनाएर निकट समयमै विस्तृत प्राविधिक प्रतिवेदन तयार पारिनेछ। ‘संयुक्त अध्ययन टोलीले अध्ययन गरेर प्रतिवेदन यही कार्यदललाई बुझाउनेछ’ सहसचिव घिमिरेले भने, ‘कार्यदलले प्रतिवेदन अध्ययन गरी निर्माणका विषयमा द्विपक्षीय सहमति जनाएर निर्माण कार्यलाई गति दिइनेछ।’

उनका अनुसार सिलगडी—चारआली पाइपलाइनका विषयमा निगममा बुझाइएको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत प्राविधिक प्रतिवेदन तयार पारिनेछ।

झापाको चारआलीस्थित निगमको डिपोबाट झापा, पाँचथर, इलाम, ताप्लेजुङलगायत क्षेत्रमा इन्धन आपूर्ति हुँदै आएको छ। यो पाइपलाइन विस्तार भएको खण्डमा प्रदेश १ र प्रदेश २ का सम्पूर्ण जिल्लालाई इन्धनको आपूर्ति सहज हुने सहसचिव घिमिरेले बताए।

सम्बन्धित खबर