२०८१ पौष २७, शनिवार , १२:४१:५१ बजे

Sajhamanch
'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सदस्यलाई ११ बुँदे आचारसंहिता

सोमवार, माघ ६, २०७६

१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ ।

२. सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्छ । बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकतापूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ । १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ ।

बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनु हुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ । परिवारमा गाली–गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्णरूपले अन्त्य गर्नुपर्छ । चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ । परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।

३. सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्न गर्नुपर्छ । नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्छ । सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । आफूले काम गरिरहेको अवस्थामै सहयोग लिनेगरी काममा लगाउनुपर्छ । खानपिन, बस–उठ गर्दा कुनै किसिमको भेदभाव नहुने गरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहार सरह सम्बन्ध विकास गर्नुपर्छ । बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्नु हुँदैन ।

४. पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामुहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ । उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीहरूलाई न्यूनतम रुपमा पनि कानुन बमोजिमको पारिश्रमिक, सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।

५. समाजमा रहेका कुरीति, रुढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध सधैं खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैँ प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउनुपर्छ ।

६. पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्छ । घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गरी हुर्काउनुपर्छ ।

७. पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानूनलाई निःशर्त पालना गर्ने र कानून बमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्याएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ ।

८. समाजवादी संस्कृतिको आधार सामुहिक जीवन प्रणाली हो । सामुहिक जीवनको सुरुवात परिवारबाट हुन्छ । तर परिवारमा मात्र आधारित हुने हो भने परिवारका निम्ति मात्र सोच्ने र काम गर्ने स्वार्थी प्रवृत्तिको विकास हुन्छ । उत्पादनमा सामुहिकता, वितरणमा सामुहिकता र उपभोगमा पनि सामुहिकता कायम गर्न सकियो भने सामुहिक जीवन प्रणाली विकास गर्न सकिन्छ ।

त्यसर्थ, महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्दछ र सामुहिक भावना सिर्जना गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ । मनोरन्जनका निम्ति शुभकामना आदान–प्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्छ ।

९. प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताबजस्तै राख्न प्रयत्न गर्नुपर्छ ।

१०. समाजमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रगण्य भूमिका खेल्नुपर्छ । समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँचनीच, छुवाछूत, जातपात र जातिभेदजस्ता कुसंस्कार र कुरिती अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ । यस किसिमका दुश्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानुन बमोजिम सजायँको भागीदार बनाउन सहयोग गर्नुपर्छ ।

११. उपरोक्त आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो । मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो । पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य हो । यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रने सदस्यलाई कानूनसँग सम्बन्धित सवालमा कानून बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्दछ ।

सम्बन्धित खबर