
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा आजदेखि इन्डो–नेपाल अण्डर–१३ टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।
नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सह–आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल बिहान ९ बजे आयोजक अर्जुनधारा-बोस्टन र मिलन क्रिकेट एकाडेमी काँकरभिट्टाबीच हुँदैछ।
प्रतियोगिताअन्तर्गत प्रत्येक दिन दुईवटा खेल सञ्चालन हुनेछन्। आजै दिउँसो १ बजे दोस्रो खेलमा लायन्स क्रिकेट एकाडेमी विराटनगर र आस्था क्रिकेट एकाडेमी दमक आमनेसामने हुनेछन्। प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को मापदण्डअनुसार सञ्चालन गरिने जनाइएको छ।
अर्जुनधारा-९ को नमुना खेल मैदानमा हुने प्रतियोगिता १२ दिनसम्म चल्नेछ । प्रतियोगितामा नेपालका ८ टोली र भारतको कोलकाता र पटनाबाट आएका दुई टोलीसहित कुल १० टोलीको सहभागिता रहेको छ।
प्रतियोगिता लिग–कम–नकआउट ढाँचामा सञ्चालन हुनेछ, जसअनुसार टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ।
प्रत्येक टोलीले समूह चरणमा चार–चार खेल खेल्नेछन् र अंकका आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलबाट उत्कृष्ट दुई टोली फाइनलमा पुग्नेछन्।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। लिग चरणमा ‘प्लेयर अफ द म्याच’ लाई १ हजार, सेमिफाइनलमा २ हजार र फाइनलमा ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताभर उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।


