
बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सन्थाल गोल्डकप फुटबल प्रतियोगितामा हल्दिवारी एफसी फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न सेमिफाइनल खेलमा हल्दिबारी एफसीले हात्तीमारा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको हल्दिवारीले विपक्षी टोलीलाई दबाबमा राख्दै उत्कृष्ट प्रदर्शन गरेको थियो ।
हल्दिबारीका लागि शेखर मर्डी एक्लैले ह्याट्रिक गर्दै टिमको जित सुनिश्चित गरे । उनले खेलको ३६औं, ४७औं र ५६औं मिनेटमा गोल गर्दै दर्शकलाई रोमाञ्चित बनाएका थिए । उत्कृष्ट प्रदर्शनका लागि मर्डी ‘म्यान अफ द म्याच’ घोषित हुँदै नगद १५ सय रुपैयाँबाट सम्मानित भए ।
सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड– ६ को आयोजनामा भइरहेको प्रतियोगितामा बिर्तामोड नगरपालिका मुख्य संरक्षकका रूपमा रहेको छ भने भद्रपुर झापा गोल्डकप र वडा नं. ६ सह–प्रायोजक रहेका छन् ।
चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।
यता, बिहीबार हुने दोस्रो सेमिफाइनलमा आयोजक सन्थाल जाति उत्थान सेवा समाज र पश्चिम बंगालको बान्चाभिट्टा सिर्जन क्लबबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक टिका हस्दाले जानकारी दिएका छन् ।


