२०८२ चैत १९ बिहिवार , ११:०७:२३ बजे

Sajhamanch
'

बिउवा संघ र होमकेयरबीच स्वास्थ्य सेवामा सहकार्य

बिहिवार, चैत १९, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघ र ‘जीवन रक्षा होमकेयर प्रा.लि.’बीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्झौता भएको छ ।

स्वास्थ्य सेवा प्रदायक संस्थाका रुपमा परिचित जीवन रक्षा होमकेयर प्रा.लि.सँग वाणिज्य संघका सदस्य तथा तथा उनीहरुका परिवारलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित दुवै पक्षबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा संघका अध्यक्ष राजु न्यौपाने र जीवन रक्षा होमकेयरका डा. चेवनराज कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा दुई पक्षले दीर्घकालीन सहकार्य गर्दै स्वास्थ्य सेवामा विशेष छुट, प्राथमिकता र पहुँच सुनिश्चित गर्ने सहमति भएको छ ।

सम्झौताअनुसार संघका सदस्य र उनीहरूका परिवारलाई घरमै स्वास्थ्य सेवा पुर्याउने व्यवस्था गरिनेछ । त्यस्तै क्याम्प, स्वास्थ्य सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

आकस्मिक उपचार, नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गरिने सम्झौता पत्रमा उल्लेख छ ।

सेवा लिन चाहने सदस्यको पहिचान बिर्तामोड उद्योग वाणिज्य संघले प्रमाणित गर्नेछ । सदस्यता प्रमाणपत्र वा नविकरण रसिदका आधारमा होमकेयरले सेवा प्रदान गर्ने बताइएको छ । सोही प्रमाणका आधारमा मात्र छुट सुविधा लागू हुने र गैरसदस्यलाई सुविधा उपलब्ध नहुने जनाइएको छ ।

सम्झौताअनुसार विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्रदान गरिनेछ । स्वास्थ्य परीक्षण, नर्सिङ सेवा, घरमै उपचार सेवा, परामर्श सेवा लगायतमा सहुलियत दर लागू गरिने उल्लेख छ ।

दुवै पक्षले आ–आफ्नो जिम्मेवारी पनि स्पष्ट गरेका छन् । होमकेयरले गुणस्तरीय, समयमै र विश्वसनीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

उद्योग वाणिज्य संघले आफ्ना सदस्यबीच जानकारी प्रवाह, पहिचान सुनिश्चितता तथा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने जनाएको छ ।

सम्झौता हस्ताक्षर भएको मितिदेखि एक आर्थिक वर्षसम्मका लागि मान्य रहनेछ भने आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ । सम्झौतासम्बन्धी कुनै विवाद उत्पन्न भएमा आपसी छलफलबाट समाधान गरिने दुवै पक्षले जनाएका छन् ।

सम्बन्धित खबर