
झापा । नेपाली कांग्रेस झापाले दुईसाता यता निरन्तर भइरहेको बेमौसमी वर्षा र हावाहुरीका कारण किसानले लगाएको अन्नबाली, फलफूल नष्ट हुनुका साथै नागरिकको बस्ने घर–टहरा, विद्यालय आदिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले आज एक विज्ञप्ति जारी गर्दै उक्त प्राकृतिक विपत्तीले पुर्याएको क्षतिप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको हो ।
बेमौसमी वर्षाका कारण मुख्यगरी झापा, बाह्रदशी, कचनकबल, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकामा बढी क्षति पुगेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ– ‘किसानले लगाएको गहुँबाली उठाउनै नसकेको अवस्था छ भने मकैबालीमा पानी जमेर तथा असिनाका कारण पूर्ण रुपमा क्षति पुग्दा करोडौ लगानी डुब्ने अवस्था छ ।’

‘हावाहुरी र वर्षाका कारण पुगेको क्षति न्यूनीकरणका उपाय अवलम्बन गर्दै हालसम्म भएको क्षतिको मूल्याङ्कन गरी किसानलाई राहत प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
खेतीको समय नजिकिँदै गएकाले किसानहरुलाई उन्नत जातको विऊ र रासायनिक मल समयमै उपलब्ध गराईदिन पनि सरकारसँग माग गरिएको छ ।


