२०८२ चैत १६ सोमवार , ११:४५:४४ बजे

Sajhamanch
'

शिवसताक्षीमा खेल उत्सव सुरु : फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन र कराँते प्रतियोगिताहरू समावेश

सोमवार, चैत १६, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा मेयर कप प्रतियोगिता २०८२ आजबाट औपचारिक रूपमा सुरु भएको छ। नगरप्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले दूधे रंगशालामा प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो।

उद्घाटन खेलमा वडा नं. ८ ले प्रभावशाली प्रदर्शन गर्दै वडा नं. ५ लाई ८–० गोल अन्तरले पराजित गरेको छ।

खेलको सुरुदेखि नै दबाब सिर्जना गरेको वडा नं. ८ ले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा थप ५ गोल गर्दै सहज जीत दर्ता गरेको आयोजक शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ।

उक्त खेलमा वडा नं. ८ का जर्सी नम्बर १७ का सोहन थापा म्यान अफ द म्याच घोषित भए। उनले ह्याट्रिक गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।

त्यस्तै, भलिबलतर्फको पहिलो खेलमा वडा नं. ९ ले वडा नं. ५ लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। उक्त खेलमा वडा नं. ९ का रोजिन नेपाली म्यान अफ द म्याच घोषित भए। दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. १० लाई हराउँदै जीत हासिल गरेको छ । उक्त खेलमा वडा नं. ११ का विवेक राई उत्कृष्ट खेलाडी चुनिए।

तेस्रो खेलमा वडा नं. २ उपस्थित नभएपछि वडा नं. ८ लाई विजयी घोषणा गरिएको आयोजकले जनाएको छ। भलिबलतर्फकै पहिलो क्वाटरफाइनल खेलमा वडा नं. ७ ले वडा नं. ११ लाई २–१ सेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। उक्त खेलमा वडा नं. ७ का युजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख थोप्राले मेयर कप प्रतियोगिता खेलमार्फत शिक्षा प्रदान गर्दै स्थानीय प्रतिभा प्रस्फुटन गराउने र खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो। उहाँले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी, खेलाडी तथा खेलप्रेमीहरूलाई शुभकामना पनि व्यक्त गर्नुभयो।

उद्घाटनकै अवसरमा कोशी प्रदेश कराँते महासंघ र झापा जिल्ला सितोरियो कराँते संघले नगरप्रमुख थोप्रालाई मानार्थ ब्ल्याकबेल्ट प्रदान गरेका थिए। कार्यक्रममा साकेला नाच प्रस्तुत गरिएको थियो भने गायक बादल लिम्बूले सांगीतिक प्रस्तुति दिएका थिए।

प्रतियोगितामा फुटबलतर्फ विजेताले ७५ हजार रुपैयाँ र उपविजेताले ४५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भलिबलतर्फ विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउनेछन् । क्रिकेटतर्फ विजेताले ५० हजार र उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

भोलि मंगलबार हुने फुटबलतर्फ वडा नं. ८ र वडा नं. ७ बीच पहिलो खेल हुनेछ भने दोस्रो खेल वडा नं. २ र वडा नं. १० बीच हुने तालिका रहेको छ।

उद्घाटन कार्यक्रममा नगरपालिकाका लेखा शाखा प्रमुख प्रकाश योङहाङको स्वागत मन्तव्य रहेको थियो। नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख छवि ढकालले गर्नुभएको थियो।

मेयर कप अन्तर्गत फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन (सिंगल तथा डबल) र कराँते विधाका प्रतियोगिताहरू समावेश गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर