२०८२ चैत १४ शनिवार , ०९:२७:०९ बजे

Sajhamanch
'

नेपाल–भारत महिला टी–२० फ्रेन्डसीप कपको च्याम्पियन बन्यो सिलिगुडी

शनिवार, चैत १४, २०८२

झापा । झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा सञ्चालित नेपाल–भारत मैत्रीपूर्ण महिला टी–२० प्रतियोगिताको उपाधि भारतको दून हेरिटेज सिलिगुडीले जितेको छ ।

आज शनिबार भएको फाइनल खेलमा भारतकै अल्पाइन स्पोर्टिङ क्लव सिक्किमलाई २ रनले पराजित गर्दै सिलिगुडीले उपाधिमा कब्जा जमाएको हो ।

वर्षाका कारण १० ओभरमा सीमित गरिएको खेलमा टस हारेपछि पहिलो ब्याटिङका लागि मैदानमा उत्रिएको सिलिगुडीले निर्धारित ओभरमा ७४ रन बनायो ।

टस जितेर फिल्डिङ रोजेको सिक्किमले निर्धारित १० ओभरमा ७२ रान मात्र बनाउन सक्यो । सिक्किमलाई अन्तिम ओभरमा ११ रनको खाँचो थियो । तर, उसले ९ रन मात्र जोडेपछि उपाधिबाट चुक्यो ।

नेपाल–भारत मैत्री संघ कोशी प्रदेशको आयोजनामा पहिलोपटक भएको प्रतियोगिताको उपाधि जितेसँगै सिलिगुडीले नगद ८० हजार रुपैयाँ पुरस्कारसहित विजेताको शील्ड प्राप्त गरेको छ । यता सिक्किमले भने ५० हजार रुपैयाँ नगद पुरस्कारसहित उपविजेताको शील्ड प्राप्त गर्यो ।

प्रतियोगितामा सहभागी तेस्रो टिम नेपालको मिलन क्रिकेट क्लव झापाले १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्यो ।

फाइनल खेलको म्यान अफ द म्याचको पुरस्कार विजेता टिमकी तनुजा सरकारले प्राप्त गरिन् भने प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर विजयी टिमकै ह्याप्पी सरकार र सर्वोत्कृष्ट बलर विजयी टिमकै हितन राय भइन् । म्यान अफ द सिरिजको पुरस्कार भने उपविजेता टिमकी मरिन सुब्बा भइन् ।

विजेता टिम तथा खेलाडीहरुलाई प्रतियोगिताको समापन समाारेहका प्रमुख अतिथि नेपालका लागि भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ठ नन्दन, खेल संयोजक गौरव सुब्बा ‘मनोज’लगायतले शील्ड, ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए ।

आयोजक नेपाल भारत मैत्री संघ कोशी प्रदेशका अध्यक्ष छत्रबहादुर गिरीको अध्यक्षतामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रथम सचिव नन्दनले नेपाल–भारतबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको स्मरण गराए । उनले खेलकुदको माध्यमबाट त्यो सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

उनले मेची क्याम्पस क्रिकेट मैदानको प्रशंसा गर्दै सो मैदानको स्तरोन्नतिको लागि दूतावासका तर्फबाट हुनसक्ने सहयोग गर्न आफूले पहल गर्ने बताए । पुरस्कार वितरण समारोहको सञ्चालन भद्रपुर क्रिकेट क्लवका महासचिव वसन्त पोखरेलले गरेका थिए ।

आयोजक नेपाल–भारत मैत्री संघ कोशी प्रदेशका अध्यक्ष छत्रबहादुर गिरीको अध्यक्षतामा आयोजित समापन समारोहको सञ्चालन सचिव चन्द्रमणि पौडेलले गरेका थिए भने खेल संयोजक तथा भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरब सुब्बा ‘मनोज’ले स्वागतसहित प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै मेची क्याम्पस क्रिकेट मैदानलाई वर्षैभरि उत्कृष्ट प्रतियोगिताहरु सञ्चालन गर्नसक्ने गरी व्यवस्थित गर्न आफूहरु लागिपरेकोले त्यसमा साथ–सहयोग दिन सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुलाई आग्रह गरे ।

सो मैदानमा डेढ महिना अघि मात्रै कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको थियो ।

सम्बन्धित खबर