२०८२ चैत ६ शुक्रवार , ०५:४२:२१ बजे

Sajhamanch
'

बिर्ताबजारका ८ वर्षे ओवैदले पूरा गरे ३० दिनको कठोर ‘रोजा’ ब्रत

शुक्रवार, चैत ६, २०८२

बिर्तामोड । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ ब्रत आज पूरा गर्दैछन् । यो ब्रत उक्त समुदायको लागि अनिवार्यजस्तै हो । ३० दिनको ब्रत पूरा गरेको भोलिपल्ट ‘इदअलफित्र’ मनाएर यो पर्व समापन गरिन्छ । सोही अनुसार इश्लाम समुदायले आज ३०औं दिनको रोजा बसिरहेका छन् ।

बालक, बृद्ध, अशक्त एवम् बिरामीहरुका लागि अनिवार्य नगरिने तर बयस्कहरुका लागि रोजा अनिवार्यजस्तै रहेको ईश्लाम समुदायका अगुवा हाजी डा. ताहिर हुसैन मिकरानीको भनाई छ । रोजा ब्रतकै शिलशिलामा कुराकानी हुँदा उहाँले यो पटक बिर्ताबजारमा बसोबास रहेका ८ वर्षको एक बालकले ३० दिनको रोजा पूरा गरेको रोचक जानकारी दिनुभएको छ ।

स्थानीय ग्लोरी अंग्रेजी माद्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत ओवैद रजा मिकरानीले ३० दिनको रोजा मात्र पूरा गरेनन्, दैनिक ५ पटक कै नमाज नियमित पढेर तथा साँझमा नियमित तरावी पढेर सानो उमेरमा नै धार्मिक आस्थाप्रति अटल विश्वास व्यक्त गरेको उहाँको भनाई छ ।

ग्लोरी अंग्रेजी माविका शिक्षक आरजु मिकरानीका २०७४ साउन ४ गते जन्मिएका छोरा ओवैद रजाको यो कठोर ब्रत पूरा गर्नुलाई बयस्क मानिसले चानचुने ठानेका छैनन् । स्वयम् वयस्कहरुलाई कठिन हुने ३० दिनको रोजा ८ वर्षको स्कूले बालकले पूरा गर्नु चानचुने कुरा नभएको इस्लाम धर्मावलम्वीहरुकै बुझाई छ ।

बालकलाई कर छैन तर रहरै रहरमा ओवैद रजाले ३० दिनको रोजा ब्रत पूरा गरेको उनका हजुरबुवा एवम् ईश्लाम समुदायका अगुवा हाजी डा. मिकरानीको भनाई छ ।

सम्बन्धित खबर