२०८२ फागुन २७ बुधवार , १०:१२:२९ बजे

Sajhamanch
'

गरामनीको दुर्गामन्दिर परिसरमा नागरिक भेटघाट चौतारी सञ्चालनमा

बुधवार, फागुन २७, २०८२

बिर्तामोड । अभियन्ता खिलप्रसाद सिवाकोटीको नेतृत्वमा बिर्तामोड ८ गरामनी बजारस्थित दुर्गामन्दिर परिसरमा नागरिक भेटघाट चौतारी निर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ ।

बिर्तामोड नगरपालिकासहित विभिन्न दाताहरुबाट प्राप्त आर्थिक सहयोग तथा संयोजक सिवाकोटीसहित स्थानीय बासिन्दाको जनश्रमदानमा नागरिक भेटघाट चौतारीको निर्माण सम्पन्न भएको हो ।

आज बिहान नगरप्रमुख पवित्रा महतारा प्रसाईं, झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ईन्दिरा राना मगर, सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, प्रखर वक्ता रमेश प्रसाईं, साहित्यकार केशव आचार्यलगायत सामाजिक अभियन्ता, राजनीतिक व्यक्तित्वहरु, जनप्रनिधिको उपस्थितिमा भेटघाट चौतारी उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा अभियन्ता सिवाकोटीले नागरिक भेटघाट चौतारी निर्माण गर्न सहयोग गर्ने दाता एवम् आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुभयो ।

उक्त नागरिक भेटघाट चौतारी परिसरमा नगरप्रमुख प्रसाईले समीको विरुवा रोपेर कार्यक्रमको थालनी गर्नुभयो भने समाजसेवी महेन्द्रकुमार गिरीले बुद्धको प्रतिमा अनावरण गर्नुभयो ।

सो कार्यक्रममा नगरप्रमुख प्रसाईंले नगरक्षेत्रमा जस्तोसुकै विकासका काम गर्न कार्यपालिका सधैं तत्पर रहेता पनि बजेटको सीमाका कारण चाहेजति गर्न नसकिएको बताउनु भयो । दुर्गा मन्दिर परिसरमा खिलसरको अग्रसरतामा निर्मित चौतारीले सबै उमेर समूहका लागि थकाइमार्ने थलो बनेकोमा निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिनुभयो ।

सो कार्यक्रमका अर्का वक्ता नवनिर्वाचित सांसद ईन्दिरा राना मगरले आफूलाई विजयी गराउन भूमिका खेल्ने सबै मतदाताहरुलाई आभार प्रकट गर्नुभयो ।

साहित्यकार केशव आचार्यले गजल प्रस्तुत गर्नुभएको सो कार्यक्रममा सर्जक देवीचरण भण्डारी र प्रखरवक्ता रमेश प्रसाईंले कविता वाचन गर्नुभयो । कार्यक्रममा समीर अधिकारीले देशभक्तिको सन्देश बोकेको गीत गाउनु भयो ।

सम्बन्धित खबर