२०८२ फागुन २० बुधवार , ०२:४७:५६ बजे

Sajhamanch
'

माझी समुदायले गरे कनकाई नदीको किनारमा कोशी अर्थात लदी पूजा

बुधवार, फागुन २०, २०८२

शिवसताक्षी । प्रकृति पुजक माझी समुदायले परम्परागत रुपमा मनाउँदै आएको लदी पूजा यस वर्ष झापाको पर्यकीय क्षेत्र चिल्लागढधाममा मनाइएको छ ।

नेपाल माझी उत्थान संघ शिवसताक्षी नगरसमितिको आयोजनामा धार्मिक तथा पर्यकीय क्षेत्र कनकाई नदीको तटमा रहेको चिल्लागढ धाममा सामुहिक रुपमा पानीलाई तान्त्रिक विधिद्वारा पूजा गर्दै लदी पूजा मनाएका हुन् । कनकाई नदीको किनारमा कोशी अर्थात लदी पूजा गरिएको हो ।

प्रत्येक वर्ष फागुनको तेस्रो मंगलबारका दिन नदीमा भेला भएर जलदेवीको पूजा गरिने नेपाल माझी उत्थान संघ शिवसताक्षी नगर समितिका अध्यक्ष राजकुमार माझीले बताउनु भयो ।

उहाँले पूजामा पाँच वटा ढुङ्गाको देवी स्थापना गरी केराको पातमाथि अक्षता, सिक्का, लड्डु, फलफूल र लिङ्गामा रङ्गहरु दलेर दियोसहित जलदेवीलाई पूजा गरिने जानकारी दिनुभयो ।

माझी समुदायमा पशुको बलि गरेर पनि पूजा गर्ने परम्परा छ। आर्थिक क्षमता बलियो भएकाले राँगा, भैसी, सुँगुर र कुखुरा बलि दिन्छन भने केहीले शुद्ध फलफूलबाट पूजा गर्ने गरेको उहाँको भनाई छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्कीले नेपालमा माझी समुदायले परम्परादेखि नै आफ्नो संस्कृति र परम्पराको पालना गर्दै आएको धारणा राख्नुभयो ।

हरेक पर्व आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दैै लदी पूजा पछिल्लो समय साझा कार्यक्रमको रुपमा मनाइँदै आएको उहाँको भनाई थियो । यसले भाइचारा, सहिष्णुता बढाउने र सबै जातजाति, भाषा धर्मको सम्मान हुने उपप्रमुख कार्कीको भनाई थियो ।

माझी समुदायले पुर्ख्यौली पेशाको रुपमा रहेको ढुंगा चलाउने कामलाई स्मरण गर्दै ढुंगासमेत प्रर्दशनीमा राखिएको थियो । यसवर्ष चुनाव परेको र मौन अवधी समेत रहेकाले जिल्लास्तरीय कार्यक्रमलाई नगरमा सिमित गरिएको नेपाल माझी उत्थान संघ केन्द्रीय समितिका उपाध्यक्ष कृष्ण माझीले बताउनु भयो ।

कार्यक्रममा माझी समुदायको भेषभुषा, नदीमा जाल हान्ने लगायत पुर्ख्यौली पेशाहरुलाई पनि समावेश गरिएको थियो । सोही पर्वलाई लक्षित गर्दै शिवसताक्षी नगरपालिकाले स्थानीय विदा दिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल माझी उत्थान युवा संघ जिल्ला अध्यक्ष सुवर्ण माझीले गर्नुभएको थियो ।