
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को नारा लेकको हिउँ पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको हो । प्रतिनिधिसभा चुनावलाई लक्षित गरी ४ हजार ९४९ मिटरको उचाइमा रहेको नारा लेकको हिउँ पन्छाइएको हो ।
कर्णाली करिडोर हिल्सा सिमकोट सडक योजना कार्यालयले नारा लेकको हिउँ पन्छाएपछि हिमपातले अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिउँ पन्छाएपछि हिल्सा नाका हुँदै लिमी आउजाउ गर्न सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताउनुभयो ।
यसैगरी, नाम्खा गाउँपालिका–६ को ५ हजार २ मिटर उचाइको न्यालु लेकको हिउँ पन्छाउन नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङ नेतृत्वको टोली त्यसतर्फ गएको छ । न्यालु सडक खुलाउन अझै केही दिन लाग्ने जनाइएको छ ।


