२०८२ फागुन ७ बिहिवार , ०९:१९:०० बजे

Sajhamanch
'

गौरीगञ्जमा एमालेको र्याली

बिहिवार, फागुन ७, २०८२

गौरीगञ्ज । आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरी नेकपा एमालेले आज झापाको गौरीगंज गाउँपालिकामा सिटी रिक्सा र्याली गरेको छ ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं. ५ अन्तरगत गौरीगञ्ज पालिका समितिले वडा नं. ३,४, ५ र ६ का गाउँ, टोल र बजारमा सिटी रिक्सा र्याली गरेको हो । सयौं सिटी रिक्सासहित आयोजित र्यालीमा दजैनौं मोटरसाइकल चालकहरुले साथ दिएका थिए ।

वडा नम्बर ३ गौरीगञ्जस्थित निर्वाचन प्रचारप्रसार कार्यालयबाट सुरु गरिएको र्याली ठेकीटोला, खजुरगाछी चिलहरा लगायतका मुख्यबजार हुँदै टोलटोलमा पुर्याइएको गौरीगञ्जका निर्वाचन परिचालन कमिटी संयोजक सर्वतलाल राजवंशीले बताउनु भयो ।

र्यालीको सुरुवात गर्नु हुँदै एमाले केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालले नेकपा एमालेलाई निर्णायक शक्तिमा पुर्याउँदा मात्र देशमा विकास हुने भएकोले आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेलाई बहुमतले निर्वाचित गराउन आह्वान गर्नु भयो ।

नेकपा एमाले यो क्षेत्रको मात्र नभई समग्र देशलाई नै विकासको नेतृत्व दिने पार्टी भएको बताउँदै उहाँले आगामी निर्वाचनले राष्ट्रवादी कित्ता र राष्ट्रविरोधी कित्ताको टुंगो लगाउने भन्दै राष्ट्रवादी कित्ताको नेतृत्व एमालेले गरिरहेको धारणा राख्नुभयो ।

र्यालीमा महिला, युवा, विद्यार्थी, किसान, मजदुर, वुद्धिजिवी लगायतका अलग अलग क्लष्टरसमेत निर्वाचन परिचालनमा खटिएको पार्टीका केन्द्रीय सदस्य रोमनाथ ओलीले बताउनु भयो ।

सम्बन्धित खबर