
बिर्तामोड । नेपाली कांग्रेस झापा क्षेत्र नं. २ निर्वाचन परिचालनका लागि बिर्तामोड नगरपालिका वडा नं. ८ मा सम्पर्क कार्यालय समुद्घाटन गरिएको छ ।
उदय कुवरको सभापतित्वमा आयोजित कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने १५ जनाभन्दा बढी अग्रज ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा मन्तब्य राख्दै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनमा सही पार्टी र सही नेतृत्व चयन भएमात्रै जनताले सुख पाउने बताउनु भयो । उहाँले नेपाली कांग्रेसका उम्मेद्वारहरु हरेक जनताको दुःखसुखमा साथ साथ रहेको बताउँदै कांग्रेसलाई देशको नेतृत्वमा पुर्याउन रुख चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो।
कार्यक्रममा झापा क्षेत्र नं. २ का उम्मेद्वार सरिता प्रसाईले २००७ सालदेखि अहिलेसम्म भएका ब्यवस्था परिवर्तन एवं संविधान घोषणाजस्ता महत्वपूर्ण काम कांग्रेसकै नेतृत्वमा भएको बताउँदै अहिले पनि देश संकटमा रहेकाले यसको निकासका लागि कांग्रेसलाई ठूलो पार्टी बनाउन अपिल गर्नुभयो ।

समानुपातिक उम्मेद्वार एवं कांग्रेस केन्द्रीय सदस्य उमा शिवाकोटी, सुशिला ढकाल आचार्य, मनुमाया विश्वकर्मा, महाधिवेशन प्रतिनिधि छत्रबहादुर गिरी, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाई, कोषाध्यक्ष जलकुमार गुरुङ, झापा क्षेत्र नं. २ का सभापति एवं निर्वाचन परिचालन समिति संयोजक खगेन्द्र मैनाली लगायतले उक्त कार्यक्रममा मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद आचार्य र उत्तम कटुवालले संयुक्त रुपमा गर्नुभएको थियो भने केही युवालाई पार्टी प्रवेश गराइएको र कांग्रेसमा प्रवेश गर्ने युवालाई पार्टीको सदस्यता प्रदान गरिएको कांग्रेस जिल्ला प्रचार विभाग प्रमुख रश्मिशेखर सुवेदीले जानकारी दिनुभयो ।


