२०८२ फागुन २ शनिवार , ०२:५०:३१ बजे

Sajhamanch
'

प्रेम दिवस : उपहार साटेर होइन, सम्मानको उत्सव बनाउँ

शनिवार, फागुन २, २०८२
  • सञ्जु सिवाकोटी

हरेक वर्ष फेब्रुअरी १४ मा विश्वभर प्रेम दिवस मनाइन्छ। धेरैका लागि यो दिन फूल, चकलेट र उपहार साटासाट गर्ने अवसर बनेको छ। तर के प्रेम यत्तिमै सीमित छ ? के प्रेमको अर्थ उपहारले तय गर्ने हो !?

प्रेम दिवसको वास्तविक अर्थ भनेको चाहिँ उपहारमा होइन, विश्वास र सम्मानमा लुकेको हुन्छ । प्रेम त्यो भावना हो जहाँ एक–अर्काको अस्तित्वलाई स्वीकार गरिन्छ, विचारलाई कदर गरिन्छ । उसको भावनालाई चोट पुग्ने हो कि भनेर धेरै सोचिन्छ ।अनि मात्र बोलिन्छ । प्रेम्ममा सम्मानभन्दा ठूलो उपहार अर्को के हुन सक्छ र ?

आजको समाजमा धेरै सम्बन्धहरू देखावटी बन्दै गएका छन्। प्रेमलाई प्रमाणित गर्न महँगा उपहार आवश्यक देखिन्छ ठानिन्छ । वास्तवमा साँचो प्रेमको प्रमाण भनेको उपहारमा होइन। सानो व्यवहारमा देखिनु पर्छ । श्रीमती कामबाट थाकेर आउँदा तिमी थाक्यौ होला, म सहयोग गर्छु । तिमी बस, पानी पिउ, भान्सामा कहिले काहीँ गरेको सहयोग, आत्मीय व्यवहार, अप्ठ्यारो पर्दा दिइएको साथ अनि कहिलेकाहीं गल्ती हुँदा गरिएको माफ नै साँचो प्रेम हो ।

साँचो प्रेममा स्वतन्त्रता हुन्छ । विश्वास हुन्छ । सम्मान हुन्छ । दबाव र शंका होइन, अधिकार जमाउनु होइन । यदि तिमी कसैलाई प्रेम गर्छौ भने उसलाई उड्न देउ । आफ्नो सोच, पहिचान र स्वतन्त्रता देऊ । यदि बाँध्न खोज्यौ भने त्यो साँचो प्रेम कदापि हुनै सक्दैन ।

समाजमा अझै पनि प्रेमको नाममा नियन्त्रण, शंका र हिंसा देखिन्छ। आजको दिनमा धेरै युवाभन्दा पनि युवती प्रेमको नाममा पीडा भोग्न बाध्य छन् । जब प्रेममा अपमान, शंका र स्वार्थ मिसिन्छ, अनि त्यहाँ प्रेम सकिन्छ भन्ने कुरा बुझ्न जरूरी छ । कहिलेकाहीँ महिलालाई मौन रहन बाध्य पारिन्छ । किनकि त्यसलाई प्रेमको परीक्षा भनिन्छ। तर साँचो प्रेममा कहिल्यै पीडा हुँदैन । प्रेमले आँशु होइन, खुसीको आभास गराउँछ।

साँचो प्रेममा म भन्ने शब्द पनि हुँदैन । मायाको बहानामा बन्धन हुँदैन । प्रेम दिवसलाई उपहारको भन्दा पनि सम्मानको अभ्यास बनाउँ । जहाँ वचन भन्दा व्यवहार सुन्दर हुन्छ । यदि सम्बन्धमा सम्मान सधैं रहिरह्यो भने प्रत्येक दिन नै प्रेम दिवस कसो नहोला !

सम्बन्धित खबर