२०८२ माघ २९ बिहिवार , १०:५३:४७ बजे

Sajhamanch
'

शिवसताक्षी नगरपालिकाबाटै जग्गा रजिष्ट्रेश पास गर्ने कार्य प्रारम्भ

बिहिवार, माघ २९, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाबाट पहिलो पटक जग्गा पासको धनिपुर्जा वितरण गरिएको छ। यसअघि मालपोत कार्यालय दमकबाट हुँदै आएको जग्गा किनबेच (बिक्री पास) सेवा नगरपालिकाबाटै सुरु गरिएसँगै सेवाग्राहीहरूलाई उल्लेखनीय सहजता भएको छ।

नगरपालिकाबाटै जग्गा पास सेवा सुरु भएपछि नागरिकले अब मालपोत कार्यालय धाउनुपर्ने झन्झट कम भएको हो। यसैक्रममा शिवसताक्षी नगरपालिका–५ निवासी रामबहादुर खड्काले आफूले खरिद गरेको जग्गाको धनिपुर्जा नगरपालिकाबाटै पास गरेर प्राप्त गरेका छन्। नगरप्रमुख मेगाहाङ्ग थोप्राले खादा लगार्इ स्वागत गर्दै उहाँलाई धनिपुर्जा प्रदान गर्नुभएको थियो।

सो अवसरमा नगरप्रमुख थोप्राले हाल जग्गा बिक्री पास गर्दा नामसारीसहित धनिपुर्जा नगरपालिकाबाटै हुने व्यवस्था सुरु गरिएको र नापी, नक्सा लगायत धनिपुर्जा सम्बन्धी अन्य कामसमेत एक वर्षभित्र स्थानीय तहबाटै हुने जानकारी दिनुभयो। स्थानीय तहमार्फत सेवा प्रवाह हुँदा आवश्यक शुल्कबाहेक अतिरिक्त शुल्क नलाग्ने र सेवाग्राहीलाई झन्झटरहित तथा सहज सेवा उपलब्ध हुने उहाँको भनाइ थियो।

नगरपालिकाका अनुसार जग्गा पास तथा धनिपुर्जा वितरण कार्यमा मालपोत कार्यालय दमकका कर्मचारी पवन कार्कीले सहजीकरण गर्नुभएको थियो।

धनिपुर्जा प्राप्त गरेपछि सेवाग्राही रामबहादुर खड्काले खुसी व्यक्त गर्दै मालपोत कार्यालयबाट जग्गा पास गर्दा विचौलियाबाट अतिरिक्त शुल्क तिर्नुपर्ने, अनावश्यक झन्झट झेल्नुपर्ने अवस्था रहेको तर अब स्थानीय तहबाटै सेवा पाउँदा प्रक्रिया सहज भएको प्रतिक्रिया दिनुभयो।

स्थानीय तहमार्फत जग्गा पास सेवा सुरु भएसँगै समय, खर्च र झन्झट घट्ने विश्वास गरिएको छ। नगरपालिकाले सेवा प्रवाहलाई अझ सरल, छिटो र नागरिकमैत्री बनाउने उद्देश्यले यो व्यवस्था सुरु गरेको जनाएको छ।

हाल झापाका शिवसताक्षी, मेचीनगर, अर्जुनधारा र कनकाई नगरपालिकाले स्थानीय तहबाटै धनिपुर्जा वितरणको तयारी गरिरहेका भए पनि शिवसताक्षी नगरपालिकाले पहिलो पटक यस्तो सेवा प्रदान गरेको हो।

सम्बन्धित खबर