२०८२ माघ २८ बुधवार , ०९:४९:२९ बजे

Sajhamanch
'

मोरङ–६ मा चुनावी सरगर्मी : विनोद ढकालको मुख्य एजेन्डा विकास र सुशासन

बुधवार, माघ २८, २०८२

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालले घरदैलो तथा मतदाता भेटघाट अभियान चलाएका छन् ।

उनले बुधबारबाट मतदाता भेटघाट सुरु गरेका हुन् । निर्वाचन क्षेत्रका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका ढकाल आफूलाई मत दिएर विजयी गराउन आग्रह गरिरहेका छन् ।

ढकालले मतदातासँगको भेटघाटमा आफू विजयी भए प्रतिनिधिसभामा क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउने र नीति निर्माण प्रक्रियामा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । उनले विकास निर्माण, सुशासन र जनतासँग प्रत्यक्ष सम्बन्ध कायम राख्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।

घरदैलोका क्रममा मतदाताले सडक पूर्वाधार, स्वास्थ्य सेवा र शिक्षाको पहुँच विस्तारलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने माग राखेका छन् । कतिपय मतदाताले आधारभूत सेवामा सहज पहुँच नपुगेको गुनासो गर्दै विकास योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । साथै, बढ्दो भ्रष्टाचार अन्त्य गरी पारदर्शी र उत्तरदायी शासन व्यवस्था कायम गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

ढकालसँगको संवादका क्रममा केही मतदाताले ‘तपाईंलाई किन भोट दिने ?’ भन्ने प्रत्यक्ष प्रश्न पनि गरेका छन् । त्यसको जवाफमा उनले पूर्वाधार विकास र सुशासन आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन् । उनले यसअघि यही क्षेत्रबाट निर्वाचित एमाले नेता लालबाबु पण्डितले सांसद र मन्त्री हुँदा ल्याएको बजेट र सम्पन्न भएका विकास योजनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

‘एमालेले विगतमा गरेका कामलाई आधार मानेर यसपटक पनि जनताले विश्वास गर्नेछन् भन्ने अपेक्षा लिएको छु’ ढकालले मतदाताहरुलाई भन्ने गरेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा मोरङ–६ का चुनावी कमाण्डर पण्डितले पनि निर्वाचन अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा आफ्नो पार्टी देश निर्माणको एजेन्डासहित चुनावमा होमिएको बताए ।

साथै, उनले केही प्रतिस्पर्धी दलप्रति आलोचनात्मक टिप्पणी गर्दै मतदातालाई भ्रमबाट सचेत रहन आग्रह गरे । पण्डितले मोरङ–६ को समग्र विकासका लागि विनोद ढकाल उपयुक्त उम्मेदवार रहेको दाबी गरे ।

एमाले केन्द्रीय सदस्य पर्शुराम बस्नेतले पनि यसपटकको निर्वाचन फरक परिस्थितिमा हुन लागेको उल्लेख गरे । विगतमा विभिन्न दलहरूले एमालेविरुद्ध गठबन्धन बनाएको स्मरण गर्दै उनले अहिले दलहरू आआफ्नै हिसाबले चुनावमा प्रतिस्पर्धा गरिरहेको बताए ।

बस्नेतका अनुसार मोरङ–६ मा एमालेको विगतको योगदानका आधारमा मतदाताले पुनः सूर्य चिन्हमा मतदान गर्ने विश्वास पार्टीले लिएको छ । उनले लालबाबु पण्डित सांसद र मन्त्री हुँदा क्षेत्रमा ठूलो मात्रामा बजेट भित्राएर विकास गरेको बताए ।

चुनावी अभियानका क्रममा स्थानीय मतदाताहरूले ढकालप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेको एमाले पक्षको दाबी छ । स्थानीय रोशन साहले विकास निर्माण, जनसम्पर्क र राष्ट्रिय नीतिमा स्पष्ट दृष्टिकोण भएको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार ढकाल स्थानीय समस्यामा चासो राख्ने र सहयोग गर्ने नेताका रूपमा परिचित छन् ।

अर्का स्थानीय रामदेव मण्डलले पनि ढकाल लामो समयदेखि सक्रिय राजनीतिमा रहेकाले यसपटक मतदाताले अवसर दिने विश्वास व्यक्त गरे । उनले विकासप्रेमी नेतृत्वको आवश्यकता औंल्याउँदै दलभन्दा पनि काम गर्ने नेताको खोजीमा मतदाता रहेको धारणा राखे ।

मोरङ–६ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने आकलन गरिएको छ । प्रमुख दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएसँगै मतदाताको घरदैलोमा पुगेर समर्थन जुटाउने प्रयास तीव्र भएको छ । विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय राजनीतिक स्थायित्वजस्ता विषय यस क्षेत्रका मुख्य चुनावी एजेन्डा बनेका छन् ।

यो क्षेत्रमा ढकालसहित नेपाली कांग्रेसबाट डा. शेखर कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुविना आचार्यलगायत १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मोरङ–६ मा कुल १ लाख ३७ हजार ८३२ मतदाता छन् ।

फागुन २१ गतेको निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो अभियान र मतदाता भेटघाट अझ बढ्ने देखिएको छ । अन्ततः मतदाताले विकासको निरन्तरता, नयाँ प्रतिबद्धता र उम्मेदवारको विश्वसनीयतालाई कस्तो मूल्यांकन गर्छन् भन्ने आधार मोरङ–६ को नतिजाबाट तय हुनेछ ।

सम्बन्धित खबर