२०८२ माघ २७ मङ्गलवार , १२:०३:३० बजे

Sajhamanch
'

दिगो वन व्यवस्थापनका लागि चन्द्रगढी वनको साधारण सभा

सोमवार, माघ २६, २०८२

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको तेस्रो विषेश साधाराण सभा तथा परिषद् भेला आज सम्पन्न गरिएको छ ।

दिगो वन व्यवस्थापनका लागि कार्यादेश लिन समूहको तेस्रो विषेश साधाराणसभा परिषद् भेला मार्फत सम्पन्न गरिएको हो ।

भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले विरूवामा पानी हालेर परिषद् भेलाको उद्घाटन गरेकी थिइन् ।

समूहको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अनुज खतिवडाले दिगो वन व्यावस्थापन गर्नसके वनको संरक्षण र स्थानीय उपभोक्ताको जीविकोपार्जनका लागि महत्वपूर्ण अवसर निर्माण हुने तथ्य पेश गरेका थिए ।

अध्यक्ष खतिवडाले दिगो वन व्यवस्थापनको उपयोगिता बारे जानकारी दिँदै प्रस्तावित वन कार्यविधिको उद्देश्य, सञ्चालन हुने प्रकृया तथा वन कार्ययोजनाका बारेमा विस्तृत विवरण समेत प्रस्तुत गरेका थिए ।

डिभिजन वन कार्यलय झापाका वन विज्ञ परमेश्वर पासवानले कार्यक्रमको सहजीकरण गर्दै दिगो वन व्यावस्थापन गर्न आवश्यक रूपमा वन सुधार गर्दै लैजानु पर्नेमा जोड दिए ।

उनले वन सम्पदालाई व्यवस्थित रूपमा सञ्चालन गर्न पनि वैज्ञानिक वन व्यवस्थापन आवश्यक पर्ने जानकारी दिँदै उपभोक्ता, समिति र वन प्राविधिकको त्रिपक्षीय सहभागितामा दिगो वन व्यवस्थापन सफल हुने प्रष्ट पारेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख कार्कीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, अग्रज व्यक्तित्व विष्णुप्रसाद शिवाकोटी, वन महासंघका वेदप्रकाश भण्डारी, समितिका पूर्वअध्यक्ष हिराप्रसाद पोखरेल, भद्रपुर ९ का वडा सदस्य मञ्जु दाहाल लगायतले मन्तव्य राख्दै पर्यावरण सन्तुलनका लागि वन सम्पदा महत्वपूर्ण रहेकोले विनास र चोरी तस्करी रोक्ने गरी दिगो वन व्यवस्थापन हुनुपर्ने धारणा राखेका थिए ।

समूहका अध्यक्ष खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष श्रीमननारायण पौडेल र सञ्चालन सचिव कमला थापाले गरेकी थिइन् भने सभाले वन समूहले राखेको वैज्ञानिक वन व्यवस्थापनको कार्यादेश सर्वसम्मत पारित गर्दै दिगो वन व्यवस्थापनका लागि बाटो खोलिदिएको छ ।

दिगो वन व्यवस्थापनको अवधारणा अनुसार ८ वटा ब्लकमा वन क्षेत्र विभाजन गर्दै पुराना रूख हटाउँदै जाने र नयाँ विरूवा उमार्ने, हुर्काउने र वन क्षेत्र हराबरा बनाउने गरी वन व्यवस्थापन गर्ने नीति सरकारी स्तरमा रहेकोले सोही अनुसार समूहले पनि यस अवधारणामा जान आम उपभोक्ताबाट स्वीकृति लिएको हो ।

सम्बन्धित खबर