२०८२ माघ २० मङ्गलवार , ०९:४४:३१ बजे

Sajhamanch
'

पार्टी छोडको घोषणा गरिसकेका कार्कीलाई झापा कांग्रेसद्वारा निष्काशनको कारबाही

मङ्गलवार, माघ २०, २०८२

बिर्तामोड । नेपाली कांग्रेस झापाले पार्टीको जिम्मेवारी त्यागेर अर्को दलमा प्रवेश गरेको सामाजिक सञ्जालबाट घोषणा गरिसके पछि आमन्त्रित जिल्ला सदस्य बिर्तामोड–१ निवासी बलराम कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

झापा कांग्रेसका कार्यबाहक सभापति शेरबहादुर भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै कार्कीलाई कारबाही गरिएको जनाएका हुन् । यस्तै बिर्तामोडका नगर सभापति भोजराज सिटौलाले पनि कार्कीलाई कारबाही गरेको भनी सामाजिक सञ्जालमा नै विज्ञप्ति जारी गरेका छन् ।

‘केही समय अघिदेखि पार्टीहित विपरित कार्य गर्दै आएकोमा पटक–पटक सच्चिन मौका प्रदान गर्दासमेत आचारणमा सुधार नगरी पार्टी हित विपरितका गतिविधिमा निरन्तर संलग्न हुँदै आएको पाइएकोले नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट निष्काशनको कारबाही गरिएको छ’– कार्यवाहक जिल्ला सभापति भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्कीले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका सबै निकाय र संस्थाहरुबाट समेत प्रतिनिधित्व खारेज गरिएको साथै अब उप्रान्त उनले गरेका कुनै पनि गतिविधिको पार्टी जवाफदेही नहुने पनि विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।