२०८२ माघ ११ आइतवार , १०:०७:०७ बजे

Sajhamanch
'

डिन झापाको कार्यालय भवन उद्घाटन

आइतवार, माघ ११, २०८२

झापा । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) झापाको कार्यालय भवन उद्घाटन भएको छ । बिर्तामोड– ६ बुट्टाबारीमा आज एक कार्यक्रमका बीच डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन)का केन्द्रीय अध्यक्ष कामेश्वर सिंह र जग्गादाता गोपीकृष्ण प्रसाईले डिन झापाको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

पिता जयन्द्र र माता धनमाया प्रसाईको स्मृतिमा छोरा बुहारी गोपीकृष्ण र टिकादेवी प्रसाईले २०७१ साल फागुन ३ गते एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । सो जग्गामा कोशी प्रदेश सरकारको १ करोड ८ लाखको बजेटमा आठ कोठे भवन निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा ५० लाख र ०८१/०८२ मा ५८ लाख बजेट निकासा भएपछि शहरी विकास तथा भवन डिभिजन कार्यालयले ठेक्का लगाएर भवन निर्माण गरिदिएको डिन झापाका अध्यक्ष सडकलाल राजवंशीले बताए ।

कोशी प्रदेशमा सुनसरीपछि डिन झापाले आफ्नै कार्यालय भवन बनाएको अध्यक्ष राजवंशीले जानकारी दिए । काठमाडौंमा केन्द्रीय कार्यालय र त्यसपछि झापा, सुनसरी र दाङमा मात्र जिल्ला शाखाहरुको आफ्नै कार्यालय भवन रहेको केन्द्रीय अध्यक्ष सिंहले बताए ।

डिन झापाका अध्यक्ष राजवंशीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सिंहको प्रमुख आतिथ्यमा भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले प्रसाई परिवारले नै बिर्तामोड ६ को वडा कार्यालयलाई ३ कठ्ठा जग्गा दान दिएको भन्दै प्रशंसा गरे ।

डिनका कोशी प्रदेश उपाध्यक्ष नारायण भट्टराईले धेरै लामो प्रयासपछि जग्गासँगै कार्यालय भवन निर्माण गर्न सफल भएको बताए । उनले जग्गा दाता प्रसाई परिवारप्रति आभार व्यक्त गरे ।

जग्गादाता प्रसाईले आफूले दिएको जग्गालाई सदुपयोग गरिदिएकोमा धन्यवाद दिए । जग्गादाता प्रसाईलाई सम्मान गरिएको सो कार्यक्रमको संचालन डिनका कोशी प्रदेश महासचिव कमल दाहालले गरेका थिए ।

सम्बन्धित खबर