२०८२ पौष २५ शुक्रवार , १२:४६:२० बजे

Sajhamanch
'

एनवाईईएफलाई निःशुल्क कोठा दिने निर्णयमा ‘बिउवा संघ’ कार्यसमिति विभाजित

बुधवार, पौष २३, २०८२
  • गोपाल काफ्ले

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको सचिवालय भवनमा रहेको एउटा कोठा नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को झापा च्याप्टरलाई निःशुल्क प्रयोग गर्न दिने विषयमा कार्यसमिति विभाजित बनेको छ ।

अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा गत मंसीर १० गते भएको मासिक बैठकको निर्णय हालै लेखिएको र उक्त निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने आधिसरो पदाधिकारी सदस्यहरुले एजेण्डा नं. ५ को निर्णयप्रति असहमति ‘नोट अफ डिसेन्ट’ लेखेका हुन् ।

उद्योग वाणिज्य संघले उक्त एजेण्डा माथि निर्णय लेख्दा ‘४० वर्ष मुनिका उद्योगी व्यवसायीहरुलाई एकजुट बनाउने उद्देश्यले युवा उद्यमी गठन गर्ने र एनवाईईएफलाई कार्यालय सञ्चालन गर्न कोठा उपलब्ध गराउन बहुमतबाट निर्णय गरियो’ उल्लेख छ ।

करिब डेढ महिना पछि लेखिएको उक्त बैठकको माइन्युटमा हस्ताक्षर गर्ने क्रममा जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई, कोषाध्यक्ष युवराज निरौला, सदस्यहरु कृष्ण बजगाईं, शत्रुघनप्रसाद गुप्ता र केदार खनालले नोट अफ डिसेन्ट लेखेका हुन् ।

उनीहरुले उक्त एजेण्डा माथि बैठकमा कुनै पनि छलफल नगराइएको, कुनै संघ–संस्थालाई निःशुल्क प्रयोग गर्न दिइनु संघको विधिसम्मत नभएको तथा पहिले नै उक्त संस्थासँग सम्झैताको तयारी गरेर बैठकमा छलफल नभएको विषयलाई बहुमतको निर्णय दावी गरिएकाले निर्णय प्रति असहमति जनाएको उल्लेख छ ।

निर्णयप्रति असहमति राख्ने एकजना सदस्य भन्छन्, ‘उल्लेखित संस्था जिल्लाको च्याप्टर हो, उसलाई बिर्तामोड उद्योग वाणिज्य संघले निशुल्क कार्यालय कोठा दिइरहनु पर्ने बाध्यता छैन । फेरि भएन, त्यो संस्थाका सदस्यहरुबाट वार्षिक २५ हजार रुपैयाँ सदस्यता शुल्क लिने गरिएकोले त्यस्तो धनी संस्थाले कार्यालय सञ्चालन गर्न भाडाको भवन लिन सक्छ ।

यदि व्यवसायीलाई नै दिनुपर्ने भए यहाँका उद्यमी व्यवसायीका संस्थाहरु हार्डवेयर व्यवसायी, मार्वल ब्यवसायी, कम्प्युटर एशोसिएन, मोवाइल एशोसिएसन वा नाई संघलाई दिनुपर्नेमा गलत निर्णय लेखेर अझै बहुमतको निर्णय भनिएकाले हामीले नोट अफ डिसेन्ट लेखेका हौं ।

उक्र विषयमा वाणिज्य संघका महासचिव एवम् प्रवक्ता कुशल खतिवडासँग जिज्ञासा राख्दा उनले ‘देशभर १४ वटा जिल्लामा मात्र गठन भएको एनवाईईएफ नेपाल उद्योग वाणिज्य महासंघको मातहतको संस्था भएको र सबै जिल्लामा जिल्ला संघ वा पालिका उद्योग वाणिज्य संघले कार्यालय कोठा उपलब्ध गराएकाले यहाँ पनि महासंघकै आग्रहमा एनवाईईएफलाई संघले कार्यालय कोठा उपलब्ध गराएको’ जानकारी दिए ।

महासचिव तथा प्रवक्ता खतिवडा भन्छन्, ‘झापाको बिर्तामोडले कार्यालय कोठा उपलब्ध गराएजस्तै मोरङ ब्यापार संघले मोरङमा सो संस्थालाई कार्यालय प्रयोजनका लागि कोठा दिएको छ । अन्य जिल्लाहरुमा पनि दिइएको छ, महासंघको आग्रहमा कोठा दिइएको हो । केही साथीहरुको विमति रहेको छ तर पनि ४० वर्ष मुनिका उद्यमी व्यवसायीहरु संगठित गर्नु उनीहरुलाई प्रोत्साहन गर्नु हामी नेतृत्वको जिम्मेवारी भएकाले मन मिल्नेहरुले बहुमतबाट निर्णय गरेका हौं ।’