
शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार दुधेस्थित भूतपूर्व सैनिक संघको भवनमा साधारण सभा आयोजना गरिएको हो ।
वि. सं. २०६३ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवा, सुनसरीमा २५ जना शेयर सदस्यबाट स्थापना भएको यस संस्थामा हाल ६०३ जना शेयर सदस्य आबद्ध रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा संस्थाको शेयर पुँजी ७७ लाख ३३ हजार ८०० रुपैयाँ, जगेडा कोष २८ लाख २० हजार १३६ रुपैयाँ, निक्षेप बचत संकलन ४ करोड २ लाख ८१ हजार १२० रुपैयाँ तथा ४ करोड ४० लाख रुपैयाँभन्दा बढी ऋण लगानी भएको संस्थाले जनाएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष दुर्गादेवी मगरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने गरी गरिबी निवारण र लक्षित वर्गको सशक्तीकरणका लागि सरकारबाट थप सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले देशमा भइरहेका विभिन्न आन्दोलन तथा घटनाक्रमका कारण सहकारीबाट प्रवाह गरिएको ऋण उठाउन चुनौतीपूर्ण बन्दै गएकोले अपेक्षित उपलब्धि हासिल गर्न कठिनाइ भएकोसमेत प्रष्ट पार्नुभयो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । असल बचतकर्तातर्फ नाम्बिनहाङ ताप्मादेन र तारा मगर, बाल बचतकर्ता तर्फ लियोनदोर्जे तामाङ र अंशु कुँवरलाई नगदसहित सम्मान गरिएको हो ।
यस्तै, असल ऋण चुक्ता गर्ने सदस्यतर्फ टेकबहादुर नाल्बो र लिलामाया तुम्बापो तथा ज्येष्ठ सदस्यतर्फ सुरज लक्सम र धनशोभा धामीलाई सम्मान गरिएको थियो ।
संस्थाले बाल बचतकर्ताहरूको जन्मदिनमा केकसहित शुभकामना दिने कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी संस्थाका व्यवस्थापक पूर्णिमा राईले दिनुभयो । आर्थिक वर्ष २०८१/८२ मा १८ जना बाल बचतकर्तालाई केक वितरण गरिएको र ५ जना शेयर सदस्यलाई सुत्केरी राहत प्रदान गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नन्दराज राईले स्थापना कालमा विभिन्न चुनौती र समस्याको सामना गरेको सहकारीले ती सबै चुनौतीलाई पार गर्दै आजको अवस्थामा आइपुग्न सफल भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष लाहनसिंह तुम्बापो, ज्येष्ठ नागरिकका वरिष्ठ उपाध्यक्ष नरपति पाठकलगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका सदस्य प्रेमप्रसाद दुलालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक पूर्णमाया राईले गर्नुभएको थियो ।


