
झापा । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कोशीको अध्यक्षमा झापा बिर्तामोड निवासी द्रौपदी गणेश चयन हुनु भएको छ। आज शुक्रबार बिर्तामोडमा सम्पन्न महासंघ प्रदेश समन्वय परिषदको तेस्रो अधिवेशनले गणेशलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले गणेशको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेखा भुजेल, सचिवमा देवकुमारी राई, सहसचिवमा अञ्जु उराउ र कोषाध्यक्षमा रञ्जना मेचे चयन हुनु भएको छ ।
त्यस्तै समितिको सदस्यमा फूलमाया तामाङ, सुनिताकुमारी ताजपुरिया, ममता राजवंशी र सबिना धिमाल चयन भएको महिला महासंघका केन्द्रीय सचिव सनम राजवंशीले जानकारी दिनुभयो ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको केन्द्रीय समितिको सहयोग तथा प्रदेश समन्वय परिषदको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । प्रदेश अध्यक्ष मातृका राईको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष ङिमी शेर्पा हुनुहुन्थ्यो ।

अधिवेशनमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका प्रदेश अध्यक्ष माया राई, महिला महासंघका केन्द्रीय सचिव नुमा मेचे, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनमा महिला महासंघ प्रदेश समितिका सहसचिव रेखा भुजेलले शाब्दिक स्वागत गर्नुभएको थियो । अधिवेशनमा जातीय संस्थाका महिला प्रतिनिधि तथा जिल्ला समितिका प्रतिनिधिहरुको सहभागीता थियो ।
महासंघमा आदिवासी जनजाति समुदायका ५० वटा जातीय संस्थाका महिला संघहरु आवद्ध छन् । नवनिर्वाचित समितिलाई शुक्रबार नै महासंघका केन्द्रीय अध्यक्ष शेर्पाले सपथग्रहण गराउनु भएको छ ।


