२०८२ मंसिर २०, शुक्रवार , ०९:१७:०५ बजे

Sajhamanch
'

आज १२औँ विश्व माटो दिवस

शुक्रवार, मंसिर २०, २०८२

काठमाण्डौ । ‘स्वस्थ माटोका लागि स्वस्थ शहर’ भन्ने नारासहित आज विश्व माटो दिवस मनाइँदैछ । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार संयुक्त राष्ट्रसंघको ६८औँ महासभाको सन् २०१३ को निर्णय र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सिफारिसअनुसार डिसेम्बर ५ लाई विश्व माटो दिवसका रूपमा मनाउन थालिएको हो ।नेपालमा भने सन् २०१४ डिसेम्बर ५ मा काभ्रेपलाञ्चोकको पाँचखालमा घुम्ती माटो परीक्षण प्रयोगशालाबाट स्थलगत परीक्षणको औपचारिक शुरूआत गर्दै पहिलोपटक दिवस मनाइएको थियो । नेपालमा परीक्षण गरिएका माटोमध्ये झन्डै ५४ प्रतिशत अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत क्षारीय छन् ।

पूर्वी क्षेत्रका माटो पश्चिमतर्फको तुलनामा बढी अम्लीय पाइएका छन् । अधिकांश माटोमा प्राङ्गारिक पदार्थको मात्रा न्यून रहेको छ । ३७ प्रतिशत माटोमा कम, ४५ प्रतिशतमा मध्यम र १८ प्रतिशतमा उच्च स्तरको प्राङ्गारिक पदार्थ मात्र रहेको विभागको तथ्याङ्क छ । तराईका माटोमा हिमाल र पहाडको तुलनामा प्राङ्गारिक पदार्थ झनै कम पाइएको छ ।

भूक्षयका कारण नेपालमा हरेक वर्ष झन्डै १ दशमलव ८ मिलिमिटर माथिल्लो सतहको माटो नष्ट हुने तथ्याङ्क छ । देशभर २८ प्रतिशत माटोमा नाइट्रोजन कम, ४८ प्रतिशतमा मध्यम र २४ प्रतिशतमा उच्च पाइन्छ भने फस्फोरस र पोटास पनि धेरै क्षेत्रमा असन्तुलित अवस्थामा छन् ।सूक्ष्म पोषकतत्वमध्ये जिङ्क, बोरोन र मोलिब्डेनमको मात्रा सामान्यतया न्यून पाइएको छ, विशेषगरी बोरोन पूर्वी नेपालमा कम रहेको विभागले जनाएको छ । विश्व माटो दिवसको उद्देश्य दिगो माटो व्यवस्थापनमार्फत माटोको उर्वराशक्ति जोगाउँदै स्वस्थ माटो भावी पुस्ताका लागि सुरक्षित राख्नु रहेको छ ।

सम्बन्धित खबर