
भद्रपुर । ३८औँ विश्व एड्स दिवसको अवसरमा झापाको भद्रपुरमा आज सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
पछिल्लो समय झापामा देखिएको रगत अभावलाई कम गर्ने उद्देश्यले झापा उद्योग वाणिज्य संघले भद्रपुर–८ स्थित सगरमाथा चोकमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा ६ महिला र ३८ पुरुष गरी ४४ जनाले रक्तदान गरेको संघका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

संघका वरिष्ठ उपाध्यक्ष राजकुमार राई, विशिष्ट सदस्य खड्क लिम्बू, महासचिव सुमन मैनालीले रक्तदान गरेर शुभारम्भ गरिएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २ नं गण हेडक्वार्टर, भद्रपुरका डीएसपी रोहितकुमार घिमिरेलगायत सशस्त्र प्रहरी, नेपाल प्रहरीले समेत रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको कार्यक्रममा भद्रपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हेमबहादुर कार्की, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, सदस्य नितेश वर्मा, नेपार रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति केदार महत, संघका पूर्व महासचिव तोया गड्तौलालगायतको उपस्थिति थियो ।


