
कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारण सभामा पेस गरिने प्रगति प्रतिवेदन आज सार्वजनिक गरिएको छ ।
सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार समिति र कर्मचारी लगायतको उपस्थितिमा प्रतिवेदन सार्वजनिक गरिएको हो ।
संस्थाका अध्यक्ष शरणकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष दिलिपकुमार चापागाईं र वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले संयुक्तरुपमा प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।
उक्त प्रतिवेदनमा संस्थाले आफ्नो गति र लक्ष्यमा अघि बढिरहेको अवस्थामा पछिल्लो आर्थिक मन्दीले निम्त्याएको उतारचढावका कारण आर्थिक गतिविधि प्रभावित भई लक्ष्य अनुसार प्रगति हासिल गर्न नसकिएको उल्लेख छ ।

२०५५ सालमा स्थापना भएको संस्थामा हाल १७ हजार २५० जना शेयर सदस्य छन् भने झापा र मोरङ्ग जिल्लाका ११ स्थानमा रहेका सेवा केन्द्रबाट कारोबार भइरहेको छ ।
वार्षिक प्रतिवेदन सार्वजनिक गरिएसँगै सेवा केन्द्रगत साधारण सभाको मितिसमेत सार्वजनिक भएको छ । जसअनुसार अगामी मंसिर ११ गते मधुमल्ला र उर्लावारी सेवा केन्द्रबाट इकाइगत साधारण सभा सुरु हुनेछ । मंसीर १९ गते मुख्य कार्यालयको सभाहलमा माइन्युट प्रमाणीकरण गरी २७औं वार्षिक साधारणसभा सम्पन्न हुने छ ।
संस्थाका व्यवस्थापक रविन सुब्बाले सञ्चालन गर्नु भएको सो कार्यक्रममा उपस्थित सहभागीलाई वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले शाब्दिक स्वागत गर्नु भएको थियो ।


