
झापा । नेपाली कांग्रेस झापाको सहकारी विभागले आज वर्तमान अवस्थामा सहकारी संस्थाहरुले भोगिरहेका समस्या एवम् यसको समाधान र समसामयिक विषयमा छलफल गरेको छ ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले उक्त भेलामा आर्थिक अनुशासन पालना गरेर लोकतन्त्रवादीहरुले नेतृत्व गरेका वित्तीय संस्थाहरुलाई समाजमै उदाहरणीय बनाउन आग्रह गर्नुभयो ।
जिल्ला पार्टी कार्यालयमा आयोजित सहकारीकर्मीहरुको भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव हुमागाईले आफूले नेतृत्व गरेको संस्थालाई पारदर्शी बनाएर जनविश्वास जित्न आग्रह गर्नुभएको हो ।
केही सहकारीहरुले गरेको आर्थिक अपचलनका कारण संस्थाप्रति जनविश्वास घट्दै गएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सहकारी सञ्चालक समितिमा बसेर सोही संस्थाबाट ऋण नै लिन नपाइने नीति नियमको पालना गर्नसमेत सुझाव दिनुभयो । विषयगत सहकारी संस्थामा विषयविज्ञलाई प्रतिनिधित्व गराउन उहाँको आग्रह थियो ।
नेपाली कांग्रेस कोशी प्रदेश सहकारी विभागका संयोजक चन्द्रा खड्का भटराईले सहकारीको नेतृत्व गर्ने ब्यक्तिले स्वमूल्याङ्कन र स्वअनुशासनको पालना गर्नुपर्नेमा जोड दिनुभयो । स-सानो पूँजीलाई संकलन गरेर आर्थिक गर्जो टार्ने सदस्यहरुको मनोभावनाको सम्मान गर्नसके सहकारी संस्थाले जनविश्वास जित्न सक्ने उहाँको भनाई थियो ।
सहकारी विभागका संयोजक दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सहकारीकर्मीहरुको भेलाको सञ्चालन राजेन्द्रप्रसाद रिजालले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ झापाका महिला उपाध्यक्ष देविका निरौला बस्नेत, सदस्य पुष्पा चम्लागाईं अधिकारी, नेपाली कांग्रेस कोशी प्रदेश सहकारी विभागका सदस्य विरेन्द्र पोखरेल लगायत सहकारीकर्मीहरुको सहभागिता थियो ।


