
- उमानाथ भण्डारी
कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खा बजारमा हरेक शनिबार लाग्ने बजार स्थानीय किसानले उत्पादन गरेको तरकारी तथा फलफूलका लागि जिल्लाकै प्रख्यात मानिन्छ ।
विशेष गरी दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि केर्खाबजार ल्याउने गरिन्छ । सिमलतरुल उत्पादनमा चुलाचुली गाउँपालिका जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा पर्दछ ।
विगत ५ वर्षदेखि सिमलतरुलको खेती गर्दै आउनु भएकी वडा नम्वर ३ की निर्मला घिमिरेले यसवर्ष ७०/८० हजार रुपैयाँ खर्च गरेर ४ विघा जमिनमा सिमलतरुलको खेती गर्नुभएको छ । सिमलतरुल नगदेबालीका रुपमा रहेको र बिक्रीबाट तत्कालै आम्दानी हुने भएकोले सिमलतरुलको खेती गरेको उहाँ बताउनु हुन्छ ।
सिमलतरुल बिक्री गरेर गतवर्ष ७ लाख २० हजार आम्दानी गरेको बताउनु हुने घिमिरेले यसवर्ष १० लाख रुपैयाभन्दा बढी आम्दानी सुनाउनु भएको छ । विशेष गरेर सिमलतरुल खाजाको रुपमा प्रयोग गरिन्छ भने ब्रत बसेकाहरुका लागि फलाहारको रुपमा उत्कृष्ट मानिन्छ । सिमलतरुल स्वास्थ्यको दृष्टिकोणले पनि अन्यन्तै राम्रो मानिन्छ ।
त्यसैगरी चुलाचुली १ की पूर्णिमा लिम्बूले समेत सिमलतरुलको खेती गर्दै आउनु भएको छ । विगत १० वर्षदेखि सिमलतरुल उत्पादन गर्दै आउनु भएकी लिम्बूले यसपटक ५ कठ्ठा जमिनमा यसको खेती गर्नुभएको हो । बजारको माग अनुसार आम्दानी हुने भएकोले यो वर्ष कम्तीमा २० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष दिएको उहाँको भनाई छ ।
अन्न बालीभन्दा सिमलतरुल र तरकारी बालीबाट बढी आम्दानी हुने भएकोले कृषकहरु यसको खेती गर्न रुचाउने पालिका कृषि शाखाका कर्मचारीहरु बताउँछन् । तर उत्पादित फलफूल, तरकारी लगायत कृषि उपजको बजार मूल्य स्थिर नभएकाले कृषकले सोचे अनुसारको आम्दानी लिन नसकेको उनीहरुको भनाई छ ।
कृषकहरु पनि आफ्नो कृषि उत्पादनलाई स्थानीय सरकारले बजारको व्यवस्था गरिदिएमा लगानी अनुसार मनग्य आम्दानी गर्न सकिने अपेक्षा सुनाउँछन् । स्थानीय सरकारले नगदेबाली लगाउने कृषकका लागि विशेष सहयोग गरेमा सिमलतरुलसहित अन्य तरकारी र फलफूलमा चुलाचुली आत्मनिर्भर बन्न सक्थ्यो कि !


