
भद्रपुर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको कार्तिक २२ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा मात्र ८ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले प्रकाशन गरेको सूचनामा ८ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएको उल्लेख छ ।
वन समूहका उपभोक्ताहरुले आस्था राखेका विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा स्वतन्त्र दावी गरिएका व्यक्तिहरुले अध्यक्षका लागि उम्मेदवारी दिएको पाइएको छ । सामाजिक काम गर्नुपर्ने सामुदायिक वनमा दलको प्रतिनिधि बनेर चुनावमा होमिने परिपाटी नयाँ भने होइन ।
उम्मेदवारहरुको राजनीतिक आस्थाका आधारमा नेपाली काँग्रेसबाट गुरूप्रसाद घिमिरे, नेकपा एमालेबाट अनुज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चूडामणि मैनालीले उम्मेदवारी दिएका छन् ।
यस्तै जेन जी युवाहरूबाट समर्थन गरिएका राजु बरालसहित दल नखुलाइएका रमेश न्यौपाने, हिराप्रसाद पोखरेल, पुण्यप्रसाद पोखरेल, कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपाध्यक्षमा ८, सचिवमा ५, सहसचिव ६ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै खुल्ला महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । ५ वटा क्षेत्र रहेको समूहमा २, ५ र ९ नम्बर क्षेत्रका सहसंयोजक निर्विरोध चयन भएको पाइएको छ । अन्य क्षेत्रका संयोजक र सहसंयोजकका लागि उम्मेदवारी परेको छ ।
२६ वर्ष अगाडिदेखि समूहको स्वामितवमा रहेको चन्द्रगढी सामुदायिक वन चारआली निचाझोडा जंगल अन्तरगत ४३० दशमलव ५९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
यसैबीच, प्रतिष्पर्धी उम्मेदवारसहित केही अग्रजहरुको सुझाव र सल्लाहलाई स्वीकार गरेको भनी अध्यक्षमा मनोनयन दर्ता गरेका हिराप्रसाद पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार दिउँसो आफ्नो फेसबुक टाइमलाइनमा उनले स्टाटस लेख्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।


