
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ।कांग्रेस बैठक गत असोज २८ गतेदेखि शुरु भएको थियो। बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रित रहेको जनाइएको छ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ। हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ। यो अवस्थामा शुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको छ। नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए। त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ।
यसअघि असोज २८ गते शुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। त्यसयता खड्काको सभापतित्वमा कार्यसमिति बैठक बसिरहेको छ।केन्द्रीय कार्यसमिति बैठकअघि बुधबार कार्यवाहक सभापति खड्काले आफू निकटका नेताहरूसँग छुट्टै छलफल गरेका छन्।ड्काले आफू निकटका नेताहरुसँग ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गरे। बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित ७५ जना सहभागी थिए।


