
भद्रपुर । अज्ञात समूहको खुकुरी प्रहारबाट चन्द्रगढीमा एक युवती गम्भिर घाइते भएकी छिन् ।
भद्रपुर १० चन्द्रगढीको लेखनाथ चौक उत्तर मेकानिक टोलमा बसोबास गर्दै आएकी २३ वर्षीया सुरेखा मुखियालाई अज्ञात समूहले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका हुन् ।
खुकुरी प्रहारबाट घाइते भएकी मुखियाको हात र अनुहारमा चोट लागेको प्रहरीको भनाइ छ ।
दुईवटा मोटरसाइकलमा आएका युवाहरूले मुखियालाई खुकुरी प्रहार गरेर फरार भएको उनका मामा इन्दलालको भनाइ छ । उनका अनुसार खुकुरी प्रहारको कारण खुल्न सकेको छैन । घाइते मुखियालाई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारका लागि पुर्याइएको छ ।
सो घटना बारे बुझ्दा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्का घटनाको जानकारी प्राप्त भएपछि घटनास्थल पुगेर अभियुक्तको खोजी तीव्र पारिएको बताउँछन् । प्रवक्ता खड्का अनुसार खुकुरी प्रहारमा संलग्न छिटै नियन्त्रणमा आउने छन् र कानुनी प्रकृयामा लगिने छ ।