
झापा । मितेरी यातायातले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर सिटसहितको प्रविधि मैत्री थप दुईवटा बस आज शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ ।
मितेरी यातायात एण्ड अटो प्रालिले आज चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा पूजा गरेर विरामी सुतेर यात्रा गर्न मिल्ने अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो ।
यात्रुहरूका लागि काँकरभिट्टादेखि काठमाडौंसम्म ४ वटा सिटमा सुतेर आरामले यात्रा गर्न मिल्ने स्लिपर सिटसहितको ४१ वटा सोफासिट, सिसि क्यामेरा, वाईफाई, वातानुकुलित, हिटर लगायतका सुविधाहरु बसमा रहेका छन् ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको पूर्वी हिमाल यातायात प्रालिका अध्यक्षसमेत रहेका मितेरी यातायात एण्ड अटो प्रालिका सञ्चालक सदस्य हेमराज दाहालले मितेरीका ३० वटा भन्दा बढी गाडीहरू देशका कुना काप्चासम्म यात्रु वर्गलाई सेवा दिइरहेको जानकारी दिए ।
दिकिमा राखिएका यात्रुका सामानहरू साटिने, हराउने सम्भावनालाई मध्यनजर गरेर गाडीको सबैतिर सुरक्षाका लागि सिसि क्यामेरा जडान गरिएको दाहालले बताए ।
उक्त बस सेवाले काँकरभिट्टा, बिर्तामोड र इलामदेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा, भोजपुर, तेह्रथुम, संखुवासभा, विरगंज लगायत सबै ठाउँमा यात्रुहरूलाई सुविधा प्रदान गरिएको बताइएको छ ।