
- द्रोण अधिकारी
भद्रपुर । सही नेतृत्व नहुँदा प्रादेशिक अस्पताल भद्रपुरमा बेथिति मौलाएको छ । उपचारका लागि आउने विरामीको रेखदेखदेखि कार्यालय व्यवस्थापनसमेत लथालिङ्ग रहेको अस्पताल नेतृत्वकै कमजोरीले थितिविहीन हुँदै गएको हो ।
सरकारले तोकेको समयमा धेरैजसो डाक्टर कार्य कक्षमा भेटिँदैनन् । डाक्टरबाट राम्ररी सेवा लिन चाहने विरामी निजी क्लिनिक धाउनु पर्ने बाध्यता बढ्दै छ ।
अस्पताल परिसरमा रहेको फार्मेसीमा कार्यरत औषधी वितरण गर्ने कर्मचारी औषधी नै चिन्दैनन् । डाक्टरले पूर्जामा लेखेको औषधिभन्दा भिन्नै औषधी दिएर विरामीलाई स्वास्थ्य जोखिम बढाउने काम फार्मेसीका कर्मचारी गरिरहेका छन् ।
सेवाग्राहीका लागि निर्माण गरिएको शौचालय परिसरमा अस्पतालले राखेको हात धुने तरिका र साबुन छ धारो र पानीको व्यवस्था नै छैन । धारो खोई भनेर प्रश्न गर्दा त्यहाँ कार्यरत कर्मचारी भने हराएको प्रतिक्रिया दिएर पन्छने गरेका छन् ।
बेथितिले थिचेर शिथिल भएको सरकारी स्वामित्वको सो अस्पताल प्रशासन विकृति रोक्न असफल हुँदा महत्वपूर्ण उपकरणदेखि सामान्य सामग्रीसमेत हराउने, मासिने र चोरिने समस्या बढ्न थालेको पाइएको हो ।
अस्पताल परिसरको सुरक्षा गर्ने भनेर दर्ननौ सुरक्षाकर्मी पनि राखिएको छ तर अस्पताल भित्र जडान गरिएका धारादेखि पानी शुद्ध पिउने भनेर राखिएका फिल्टर समेत हराएर खाली हुदै गएका छन् ।
अस्पताल अस्तव्यस्त हुनुमा प्रशासनको नेतृत्व गर्नेदेखि व्यवस्थापनको जिम्मेवारी पाउनेसम्म उत्ति कै दोषी रहेको सेवाग्राहीको आरोप छ ।
संघीय सरकारले सही व्यवस्थापन गर्न सकेन भनेर प्रदेश सरकारको स्वामित्वमा ल्याइएको मेची प्रादेशिक अस्पतालको हालत र मुहारमा कुनै परिवर्तन भएको संकेत देखिँदैन ।
विगतमा पुरानो भवन साँगुरो भयो भनेर समयानुकुल नयाँ भवन निर्माण गरी सेवा प्रवाह पनि थालियो तर बिरामीले पुर्जा लिनेदेखि शौचालय जाने अवस्थासम्म सास्ती र असहजता भोग्नु पर्ने बाध्यता बढ्दै छ ।
नेपालमा राजनीति विकृतिको भूमरी भयो भनेर नव युवाहरूको विद्रोहले तहसनस बनाइ सकेको छ । तर सरकारी सम्पत्ति दुरूपयोग गर्नेहरू सुरक्षित रहनु र कर्मचारीको सेवा प्रवाह विकृति मुक्त हुन नसक्दा अस्पताल, शिक्षालय लगायत जनसरोकारका सरकारी सेवा निकम्मा बन्ने क्रम जारी छ ।
नयाँ भवन त बन्यो तर सेवा प्रवाह प्रणाली भने अझै पुरानै रहेका कारण अव्यवस्थित र अपारदर्शी प्रशासनले विरामीलाई सेवाभन्दा त्रास बढी सहनु पर्ने अवस्था छ ।