२०८२ असोज ८, बुधवार , ०३:३२:०१ बजे

Sajhamanch
'

झापा महिला गोल्डकप : विजेताले पाउनेछ १० लाख, दुधे रंगशाला तयार हुँदै

बुधवार, असोज ८, २०८२

झापा । झापामा पहिलोपटक आयोजना हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक आकर्षक बन्ने देखिएको छ । विजेता टिमले रोचक रूपमा नगद १० लाख रुपैयाँ हात पार्ने गोल्डकप आयोजक समितिले घोषणा गरेको छ ।

कात्तिक १५ गतेदेखि २२ गतेसम्म शिवसताक्षीको दुधे रंगशालामा हुने यो अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्ताले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमसँगै भारत, भुटान र नेपालका तीन ए डिभिजन क्लब प्रतिस्पर्धामा उत्रिने झापा महिला गोल्ड कपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो ।

आयोजकले प्रतियोगितालाई महिला खेलाडी उत्प्रेरणा र ग्रासरुटस्तरमै महिला फुटबललाई सुदृढ गर्ने अभियानका रूपमा लिएको छ । दुधे रंगशाला पनि प्रतियोगिता लक्षित गरेर स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।

शिवसताक्षी नगरप्रमुख तथा प्रतियोगिताका संरक्षक मेगाहाङ थोप्राका अनुसार पक्की र अस्थायी प्यारापिट निर्माण, खेलमैदानको सुधार तथा अन्य पूर्वाधारको काम तीव्र गतिमा भइरहेको छ । प्रतियोगिता सञ्चालनमा झण्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

झापामा महिला फुटबलको इतिहास रच्ने यो गोल्डकप महिला खेलाडीको सपना र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर