२०८२ असोज १, बुधवार , ०३:४८:५८ बजे

Sajhamanch
'

सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

बुधवार, असोज १, २०८२

काठमाडौं । सरकारले यस वर्षको संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ । ‘जेन–जी’ आन्दोलनका कारण उत्पन्न परिस्थितिले उत्सवका रूपमा मनाउन नसकिने भएकाले सामान्य रूपमा मनाउने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा सामान्य कार्यक्रम गरेर संविधान दिवस मनाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

सरकारले जिल्लासहित सङ्घमा पनि साङ्केतिक रूपमा मात्रै दिवस मनाउने तयारी गरिरहँदा सेनाले पनि सामान्य रूपमा मात्रै दिवस मनाउने बताएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले असोज ३ गते दिउँसो साढे ३ बजे शीतल निवासमा संविधान विशेष कार्यक्रम राख्नुभएको छ । विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गर्ने कार्यक्रम पनि सामान्य मात्रै हुने जनाइएको छ ।

पर्सि ३ गते संविधान जारी भएको १० वर्ष पूरा हुँदैछ । २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । संविधानसभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवका रूपमा मनाउँदै आएको छ ।

सम्बन्धित खबर