
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५२ अङ्कले घटेर २ हजार ७०८ दशमलव २५ विन्दुमा झरेको छ । नेप्से लगातार चार कारोबार दिन घटेको हो ।
आज फाइनान्स, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज १७३ वटा कम्पनीको शेयर घटेकोमा ७९ वटाको बढेको छ ।
आज पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ३३४ वटा कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।