
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ज्येष्ठ नागरिक वडा समितिले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
आज शिवगञ्जस्थित ज्येष्ठ नागरिक भवनमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभा उद्घाटनमा ज्येष्ठ नागरिकले अध्यक्ष कोषमा सहयोग गर्ने पूर्व शिक्षक बलबहादुर राईलाई सम्मान गरेको छ ।
बलबहादुर राईकी छोरी संगीताले अक्षयको लागि नगद २५ हजार सहयोग गरेकी थिइन् । छोरी संगीता विदेशमा रहेकाले उहाँका पितालाई सम्मान गरिएको ज्येष्ठ नागरिक वडा समितिले जनाएको छ ।
त्यस्तै साधारण सभामा ८५ वर्ष माथिका ४ जनालाई ज्येष्ठ माता र पितालाई सम्मान गरिएको छ । उनीहरुलाई ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा अभिमाया पौडेल, नरमाया श्रेष्ठ, विष्णुकान्त ढकाल र खडानन्द प्रसाई रहेका छन् ।
त्यस्तै शिवगज्जमा नवनिर्मित ज्येष्ठ नागरिक भवनसमेत उद्घाटन गरिएको छ । वडाध्यक्ष मनोज खुलाल कार्की, वडा सदस्य तथा कार्यपालिका सदस्य गोमा रिजाल लगायतले उक्त भवनको आज उद्घाटन गरेका हुन् ।
भवन २० लाख १३ हजार ३६० रुपैयाँको लागतमा निर्माण गरिएको अध्यक्ष चक्रप्रसाद लुईटेलले जानकारी दिए । जसमा वडा कार्यालयबाट विनियोजित १० लाख, साहरा साकोसबाट १० लाख र १३ हजार ३६० स्थानीय दाताहरुको सहयोग रहेको छ ।
साधारण सभामा वडाध्यक्ष मनोज खुलाल कार्कीले ज्येष्ठ नागरिक हाम्रा सम्पत्ती, संस्कृति र ज्ञानको भण्डार रहेकाले उहाँहरुलाई सँधै सम्मान गर्नु पर्ने बताए ।
ज्येष्ठ पिता माताहरुको इच्छा चाहना अनुरुप नै वडा र साहरा साकोसको संयुक्त लगानीमा भवन निर्माण भएको छ । अब यस भवनको बाँकी आधारभूत अपुग रहेका कुराहरु पुरा गर्र्दै जाने वडाध्यक्ष खुलालले प्रतिबद्धता व्यक्त गरे ।
वडाध्यक्ष खुलालले स्थानीय जनआदर्श माध्यमिक विद्यालयले जग्गा उपलब्ध गराएपछि ज्येष्ठ नागरिक भवन निर्माण गर्न सफल भएको बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक वडा समिति अध्यक्ष लुईटेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कार्यापालिका सदस्य गोमा रिजाल, ज्येष्ठ नागरिक नगर अध्यक्ष अम्बिका अधिकारी, सम्मानितहरुको तर्फबाट बलबहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहारा साकोस ज्येष्ठ नागरिक व्यवस्थापन समिति संयोजक रामप्रसाद रोक्का, सदस्य मुकुन्दराज ढकाल, टिकाप्रसाद उप्रेती, सहारा नेपाल साकोस शिवगञ्जका विमलकुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लोकबहादुर रोक्काले गरेका थिए ।