२०८२ भदौ १६, सोमवार , ०९:१७:३९ बजे

Sajhamanch
'

पत्रकार खनालसहित चार जना पुरस्कृत

सोमवार, भदौ १६, २०८२

झापा । नेपाल निजामती कर्मचारी संगठन झापा तथा राष्ट्रसेवक सहकारी संस्थाले संगठक स्वर्गीय प्रमोद तामाङको स्मृतिमा स्थापित सुशासन पत्रकारिता पुरस्कारबाट पत्रकार उमाकान्त खनाललाई पुरस्कृत गरिएको छ।

स्वर्गीय तामाङको स्मृतिमा स्थापित सुशासन पत्रकारिता पुरस्कारको राशि ९ हजार ९९९ र सम्मान पत्रबाट खनाललाई सम्मानित गरिएको हो । उनी देशसञ्चार अनलाइनका उपसम्पादक तथा खबरमञ्च अनलाइनका प्रधान सम्पादक हुन् ।

अढाइ दशक भन्दा लामो समय पत्रकारिता पेशामा आबद्ध खनालले बीबीसी नेपाली सेवालगायत थुप्रै सञ्चारमाध्यममा काम गरिसकेका छन् ।

त्यस्तै स्वर्गीय प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्रसेवक पुरस्कारबाट अर्जुनधारा नगरपालिकाका इन्जिनियर कमलराज पौड्याल तथा डिभिजन वन कार्यालय अन्तर्गत कनकाई सब डिभिजन कार्यालयमा कार्यरत कार्यालय सहयोगी देवका गौतम पुरस्कृत भएका छन् । उनीहरूलाई जनही १० हजार १५० रुपैयाँका दरले नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।

आइतबार भद्रपुर १० मा आयोजित पुरस्कार वितरण कार्यक्रममा झापा बिर्तामोडमा रहेको मोहनमाया माध्यमिक विद्यालयमा अध्ययन गरेकी छात्रा ताकिता शर्मालाई पनि २०८१ को कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएवापत स्वर्गीय प्रमोद तामाङ स्मृति छात्रवृत्ति प्रदान गरिएको संगठनका झापा सचिव उदय मैनालीले जानकारी दिए ।

उनलाई नगद ५ हजार १०० प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालले जनतामुखी सेवाका लागि निजामती कर्मचारीले कन्जुस्याइँ गर्न नहुने कुरा जोड दिइन् ।

संगठनका झापा अध्यक्ष हिरण्य न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज वशिष्ठ अधिकारीले संगठन निर्माणमा स्वर्गीय तामाङको भूमिकाका बारेमा चर्चा गरेका थिए ।

सम्बन्धित खबर