
झापा । झापाको कनकाई नगरपालिका–८ बिरिङ पुलमा मारुती भ्यान र पिकअप गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।
मंगलबार राति करिब साढे ८ बजे मे. १ च. ३४४० नम्बरको मारुती भ्यान र मे. १ च. ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोक्किँदा भ्यान चालक शिवसताक्षी नगरपालिका–७, झापाका २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बी. एण्ड सी. अस्पताल बिर्तामोड पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र नौ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन् । उनीहरूको बी. एन्ड सी. अस्पतालमै उपचार भइरहेको छ ।
बोलेरो चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।