
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आज तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले बिर्तामोड–२ चारपानेस्थित एक पार्टी प्यालेसमा हरतालिका तीजको अवसर पारेर मनोरन्जानात्मक कार्यक्रमसहित तीज मिलन गरेको हो ।
समाजका झापा महिला अध्यक्ष तथा कार्यक्रम संयोजक पार्वता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गोविन्दबिक्रम गिरीको प्रमुख आतिथ्य तथा केन्द्रीय संरक्षक भरतलाल गिरीको विशिष्ट आतिथ्य थियो ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीले शाब्दिक स्वागत गर्नुभएको थियो ।
बिर्तामोड नगर समितिले समाजका केन्द्रीय सल्लाहकार, झापा कोषाध्यक्ष तथा बिर्तामोड नगर सल्लाहकार बालकृष्ण गिरीलाई सम्मान पनि गरेको छ । बालकृष्णले समाजको गतिविधिमा सक्रिय भूमिका निर्वाह गदै समाजका सबै कार्यक्रमका लागि हल निःशुल्क उपलब्ध गराएकोमा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको हो ।
सोही कार्यक्रममा बिर्तामोड नगरले स्थापना गरेको अक्षयकोष व्यवस्थापन समितिको आगामी योजनाका विषयमा कोषका संयोजक अर्जुन गिरीले जानकारी गराउनु भयो । कार्यक्रमको सञ्चालन समाजका नगर सचिव प्रजित पुरीले गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित दशनामी चेलिबेटीहरुका बीचमा समुह नृत्य प्रतियोगिता गरेर पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई नगदसहित ट्रफीले सम्मान तथा पुरस्कृत गरिएको थियो ।